हात्तीपाइले अर्थात् फाइलेरिया मानिसलाई लाग्ने एक प्रकारको सरुवा रोग हो । यो रोग क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । लामखुट्टेले हात्तीपाइले भएका मानिसलाई टोकेर उसमा भएको परजीवी आफूमा लिन्छ र स्वस्थ मानिसलाई टोकेर ती परजीवी उसमा राखिदिन्छ । जसकारण यो रोग एक व्यक्तिबाट अर्कोमा सर्ने गर्दछ ।
हात्तीपाइले रोग लाग्दा मानिसको खुट्टा साधारणभन्दा मोटो हुने र हात्तीका जस्ता खुट्टा देखिने हुनाले यो रोगलाई हात्तीपाइले भनिएको हो । गर्मी र बर्खाको समय सुरु भएलगत्तै लामखुट्टेको संख्या बढ्ने हुनाले यो रोग लाग्ने सम्भावना बढी हुने गरेको छ । सुरुसुरुमा यो रोगका लक्षणहरू देखिँदैनन् । तर लामो समय अर्थात् एक वर्ष वा त्यसभन्दा बढी समयपछि भने यो रोगका लक्षणहरू देखिने गर्छन् ।
हात्तीपाइले रोगका लक्षण तथा चिह्नहरूः
जाडो लाग्ने र कम्पन हुने गरी ज्वरो आउनु
शरीरका विभिन्न भागमा गिर्खा आउनु र दुख्नु
खुट्टाहरूमा निला काला धर्साहरू देखापर्नु
पुरुषमा अन्डकोष ठूलो हुनु वा हाइड्रोसिल हुनु
महिलाहरूमा स्तन सुन्निन्नु, गिर्खा आउनु र योनि सुन्निन्नु
समय बित्दै गएपछि खुट्टा सुन्निएर हात्तीका जस्ता ठूला हुनु
पिसाबको रङ सेतो हुनु
कसरी बच्ने ?
यो रोग लामखुट्टेको टोकाइबाट सर्ने हुनाले रोग लाग्न नदिन सर्वप्रथम त लामखुट्टेको टोकाइबाट बच्नु अति आवश्यक छ । निम्न कुराहरूमा ध्यान दिँदा लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ ।
सुत्ने बेलामा सधैँ झुलको प्रयोग गर्ने,
घर बाहिर, बारीमा काम गर्दा पूरा बाहुला भएको लुगा लगाउने अथवा लामखुट्टेले नटोक्ने मल्हम लगाउने
घरभित्र हुँदा लामखुट्टे भगाउने धूपको प्रयोग गर्ने
घर वरपर भएका पानी जम्ने खाल्डाखुल्डीहरू पुर्ने
घरका झ्याल्ढोकामा लामखुट्टे नछिर्ने मसिनो जाली लगाउने
प्रत्येक वर्ष सञ्चालन हुने औषधि सेवन कार्यक्रममा हात्तीपाइले रोगको औषधि खाने ।
समयमै उपचार गर्न सके हात्तीपाइले रोग निको हुन्छ । सरकारले हात्तीपाइले रोगका लागि निःशुल्क औषधि पनि दिएको छ । हात्तीपाइले रोगको औषधि सरकारले प्रत्येक वर्ष विशेष कार्यक्रममार्फत खुवाउने गरेको छ । जसमा अल्बेन्डाजोल र डिइसी चक्की पर्ने गर्दछन् । यो औषधि दुई वर्षमुनिका बच्चा, गर्भवती महिला तथा सिकिस्त बिरामीबाहेक अरू सबैले खान मिल्छ । तर औषधि सेवन गरेका व्यक्तिको शरीरमा अरू नै रोगको संक्रमण छ भने ज्वरो आएकोजस्तो हुने, रिँगटा लाग्ने, वाकवाकी लाग्नेजस्ता केही लक्षण देखिन सक्छन् ।
यदि तपाईं या तपाईंको घर छिमेकमा कसैलाई माथि भनिएका जस्ता लक्षणहरू देखिएका छन् भने जतिसक्दो छिटो नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा गई उपचार गराउनुहोस् । समयमै उपचार नगर्नु तथा बेवास्ता गर्नु हात्तीपाइलेले ठूलो समस्या निम्त्याउने प्रमुख कारण हो ।
(लेखक बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएस चौथो वर्षमा अध्यनरत छन् ।)
प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६