आफ्नो संस्कृति र परम्पराको माया कसलाई पो हुँदैन र ? कर्मका लागि जहाँ पुगे पनि मानिस सबैभन्दा पहिले आफ्नो संस्कृति , रीतिरिवाजलाई पछ्याई नै रहेको हुन्छ ।
अध्ययन र रोजगारीको सिलसिलामा अष्ट्रेलियामा रहेका सुदुरपश्चिमबासीहरुले पनि परदेशमा आफ्नो संस्कार र परम्परालाई पछ्याउने गरेका छन् ।
सुदुरपश्चिममा मनाइने विभिन्न पर्व र चाडवाडहरु अष्ट्रेलियामा सामूहिक रुपमा मनाइने गरिएको छ ।
फागु, गौरा र विसु पर्व खासगरी अष्ट्रेलियामा बसोबास गर्ने सुदुरपश्चिमीहरुले सामूहिक रुपमा मनाउने पर्वहरु हुन् । यस बर्ष पनि अष्ट्रेलियामा बसोवास गरिरहेका सुदुपश्चिमवासीहरुले नयाँ बर्षसंगै विसु पर्व सामूहिक रुपमा मनाएका छन । उनीहरुले यसबर्षको विसु पर्व अष्ट्रेलियाको सिड्नी स्थित आसफिल्ड पार्कमा सामूहिक रुपमा यो पर्व मनाएका हुन । पार्कमा जम्मा भएका उनीहरुले एक आपसमा देउडा समेत खेलेर रमाईलो साटासाट गरेका थिए । आफ्नो क्षेत्रका सांस्कृतिक चाडपर्व यसैगरि आफुहरुले मनाउने गरेको उनीहरुले जनाएका छन ।
बिसु पर्व विषेशगरि सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा मनाइन्छ । जसमा अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा र बैतडी पर्दछन् । यो पर्व वैशाख एक गते मनाउने प्रचलन रहेको छ। देवरभाउजू, नन्दभाउजू र सालीभिनाजुहरूले एकआपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने विश्वास गरिन्छ ।
विशेष गरी देवर–भाउजुबीच सिस्नो लगाउन जुहारी नै चल्छ । तर, पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै गएको छ । विसुको अवसरमा देउडा खेल्ने, विभिन्न प्रतियोगिता सञ्चालन गरी रमाइलो गर्ने गरिन्छ । सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १४, २०७६