काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिमा ९ जना नयाँ सदस्य मनोनीत गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेको प्रस्तावमा उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।
मनोनीत हुनेमा गृहमन्त्री सुधन गुरुङ, भूपदेव शाह, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, डा. मनोहर प्रधान, सुरेन्द्र चौधरी र डा. भक्तबहादुर राई रहेका छन्।
रास्वपाको विधानअनुसार सभापतिले ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्न सक्ने व्यवस्था छ। तर शुक्रबारको बैठकबाट ९ जना मात्रै मनोनीत भएका छन्। यससँगै अझै ४२ जना केन्द्रीय सदस्य मनोनीत हुन बाँकी छन्।
रास्वपाको पहिलो महाधिवेशनपछि केन्द्रीय समिति विस्तार तथा पदाधिकारी चयनको प्रक्रिया अघि बढिरहेको छ। यसअघि ५१ जना मनोनीत केन्द्रीय सदस्यको विषयमा पार्टीभित्र सहमति जुटाउन समय लागेको थियो। सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाह पक्षबीच मनोनयनमा प्रतिनिधित्व र समावेशिताको विषयमा छलफल हुँदै आएको थियो।
मनोनीत हुनेमध्ये सुधन गुरुङ र सुनिल लम्साल सरकारमा महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरू हुन्। यसअघि उनीहरूलाई पार्टीको पदाधिकारीमा समेत जिम्मेवारी दिने विषयमा चर्चा भएको थियो।
रास्वपाले बाँकी केन्द्रीय सदस्य तथा रिक्त पदाधिकारीको मनोनयन पनि क्रमशः टुंगो लगाउने तयारी गरेको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३