इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पूर्वक्रिकेट कप्तान इमरान खानलाई सर्वोच्च अदालतको आदेशपछि उपचारका लागि इस्लामाबादस्थित निजी अस्पताल लगिएको छ।
मंगलबार न्यायाधीश शाहिद वहीदको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले खानलाई स्वास्थ्य परीक्षण तथा उपचारका लागि बहुविशेषज्ञ चिकित्सक सम्मिलित मेडिकल बोर्डको निगरानीमा शिफा इन्टरनेसनल अस्पतालमा सार्न सरकारलाई आदेश दिएको थियो।
खानको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)ले अस्पताल भर्ना गर्न माग गर्दै निवेदन दिएपछि अदालतले यस्तो आदेश दिएको हो।
कडा सुरक्षा व्यवस्थाबीच शुक्रबार बिहान खानलाई अदियाला जेलबाट अस्पताल लगिएको पीटीआईले जनाएको छ। यद्यपि, ७३ वर्षीय खान कति समय अस्पतालमा रहनेछन् भन्ने स्पष्ट भएको छैन।
सरकारले सर्वोच्च अदालतको आदेश पुनरावलोकन गर्न माग गरे पनि आवश्यक कागजात अपूर्ण रहेको भन्दै सर्वोच्च अदालतको रजिस्ट्रार कार्यालयले निवेदन फिर्ता गरिदिएको छ। सरकारले आफूले रोजेको निजी अस्पतालमा खानलाई उपचार गराउन अनुमति दिनु विभेदपूर्ण हुने तर्क गरेको छ।
यसैबीच, खानको पार्टी र कानुनी प्रतिनिधिहरूले लामो समयदेखि उनको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै आएका छन्। पीटीआईले यसअघि खानको दायाँ आँखाको दृष्टि १५ प्रतिशतमा सीमित भएको दाबी गरेको थियो।
इमरान खान सन् २०२३ को अगस्टदेखि रावलपिन्डीस्थित अदियाला जेलमा कैद छन्। उनी भ्रष्टाचारलगायत विभिन्न आरोपमा सजाय भोगिरहेका छन्। तर, खान र उनको पार्टीले उनीमाथिका आरोपहरू अस्वीकार गर्दै आएका छन्।
प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३