विराटनगर : तपाई विराटनगरको मुख्य बजारका चोकमा पुग्नुभयो भने आफ्नो गन्तव्य पुग्न मुस्किल पर्छ । पैदलयात्रीले त जेनतेन यात्रालाई सफल नै बनाउँछन् । तर मोटरसाइकल वा अन्य कुनै ठूला सवारीसाधन लिएर जानुभयो भने भनेको स्थानमा पुग्न हम्मेहम्मे पर्छ ।
विराटनगरको मुख्य सडकहरूमा पूर्वाधार विकासका काम एकैसाथ हुँदा सर्वसाधारणले सास्ती खेप्नु नै पर्छ । विकासका काममा सक्रिय मजदुरले ज्यानै जाखिममा पारेर काम गर्नुपर्छ । सडक, नाला, ढल, खानेपानी, विद्युत् लगायत अन्य निजी क्षेत्रबाट सञ्चालित केबल टिभी र इन्टरनेट प्रदायक संस्थाले एकैसाथ काम गर्दा समस्या झन जटिल भएको छ ।

मंगलबार विराटनगरको देवकोटा चोकमा यस्तै एक घटना भएको छ । जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला अदालतको पूर्वपट्टि रहेको सडकमा फराकिलो पार्ने र ढलका लागि संरचना निर्माण गर्ने कार्य जारी छ । मंगलबार आशीष कन्स्ट्रक्सनबाट पेटी ठेक्का पाएका मजदुर र कर्मचारी सोही निर्माणाधीन सडक नजिकैको विद्युत्को पोलमा काम गर्दै थिए । तर एक्कासी एक जनालाई करेन्ट लाग्यो र उनलाई उपचारका क्रममा नजिकैको अस्पताल लैजाने क्रममा मृत्यु भयो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आशीष कन्ट्रक्सनमै कार्यरत कर्मचारी भोजराज दुलालको करेन्ट लागेर ज्यान गएको हो । अन्दाजी २२ वर्षीय दुलाललाई उपचारका लागि नजिकैको गोल्डेन अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।
बाँसको सिडी लगाएर पोलमा चढेका दुलाल करेन्ट लागेर पोलमै झुण्डिएका थिए । उनका सहकर्मीले लौरो लिएर बचाउन खोजे पनि उनको ज्यान जोगिएन । पछि उनलाई स्क्साभेटर ल्याएर उद्दार गर्दै अस्पताल लगिएको थियो ।
पर्सा जिल्लाको सखुवापर्सेनी गाउँपालिका–१ का दुलालको शवलाई पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पताल लगिएको मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । उनी विगत एक वर्षदेखि विराटनगरमा विद्युत् लाइनको काम गर्दै आएका थिए ।

विराटनगरमा ढल, नाला र सडक निर्माणको काम एकसाथ भइरहेको छ । साथै विद्युत् लाइनका पोलहरू सार्ने काम एकसाथ हुँदै आएको छ । पोल सार्ने क्रममा विद्युत् प्राधिकरणसँग समन्वय गरेर विद्युत् लाइन काटिए पनि नजिकै रहेको सरकारी वकिल कार्यालयको जेनेरेटरको करेन्टले उनको मृत्यु भएको बताइएको छ । जेनेरेटरको करेन्ट ब्याक भएर त्यसको झड्काले ज्यान गएको निर्माण कम्पनीका कर्मचारी नितेश हुमागाईंले बताए ।
मोरङ प्रहरीका डीएसपी श्रेष्ठले घटनाको विषयमा अनुसन्धान भइरहेको जनाए । ‘प्रारम्भिक अनुसन्धानबाट करेन्ट लागेर मृत्यु भएको पुष्टि भएको छ’, श्रेष्ठले आजको न्यूजसँग भने, ‘हामी यो विषयमा गम्भीर छौँ । यो विषयलाई अनुसन्धानको दायरामा ल्याउँछौ । घटना कसरी भयो, कुन निकायको दोष हो र भविष्यमा यस्तो घटना हुन नदिन सम्बन्धित पक्ष सचेत हुनुपर्छ ।’
विराटनगरमा विद्युत् लाइनको पोल सार्ने क्रममा करेन्ट लागेर अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ । त्यस्तै दुई जना घाइते भएका छन् ।
एसियाली विकास बैंक (एडीबी) को दुई अर्ब ६१ करोड १० लाख रुपैयाँ ऋण सहयोगमा सञ्चालित परियोजना अन्तर्गत हाल विराटनगरमा सडक, नाला र ढल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।
कामका क्रममा पाइप फुट्ने, टेलिफोन, बिजुली, इन्टरनेट र केबलका तार चुँडिने, खानेपानीको पाइप फुटेर बाहिरको पानी मिसिने जस्ता समस्या नगरवासीले भोग्दै आएका छन् । निर्माण क्रममा भत्काइएको संरचनाका कारण विराटनगरको मुख्य सडक पानी जमेर हिलाम्य हुँदा अवरुद्ध जस्तै बन्ने गर्छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६