बिहान निश्चित समयमा छिटो र पूरा दिसा नलाग्नुलाई नै कब्जियत भनिन्छ । यदाकदा यो रोग सबैलाई नै हुन्छ । तर यस रोगबाट सधैँभरि नै पीडित हुनु स्वस्थ्यका लागि हानिकारक हुन्छ । निरन्तर कब्जियतको समस्या भइरहेमा शरीर र मन दुवैमा दुष्प्रभाव पर्छ । पायल्स, भंगदर, साइटिका, फिसर आदि रोगले समाउँछ । यसैले कब्जियतलाई विभिन्न रोगको जड मानिन्छ ।
के कारण हुन्छ कब्जियत ?
नियमित समयमा खाना नखाने बानी,
मैदाबाट बनेको, तारेको, बढी पीरो, चटपटे, मसालेदार खाना खानु,
नचपाई खाना निल्नु,
पहिले खाएको खाना पचिनसक्दै फेरि खाना खानु,
मानसिक तनाव, चिन्ता, क्रोध र शोकको अवस्थामा पनि खाना खानु,
रेसादार खाना नखानु,
चिया, कफी, खैनी, चुरोट, बिँडीको प्रयोग धेरै गर्नु,
खाना खानेबित्तिक्कै दिमागी काम गर्नु, मैथुन गर्नु या सुत्नु,
व्यायाम विल्कुलै नगर्नु,
परिश्रमदेखि टाढै भाग्नु,
के हुन् कब्जियतका लक्षण ?
अरुचि,
भोक राम्ररी नलाग्नु,
पेट भारी हुनु, फुल्नु
पेटमा ग्यासको समस्या,
टवाइलेट सफासँग नुहुनु,
दिसा सुख्खा, कडा र कम निस्किनु,
आलस्य, चिडचिडापन हुनु,
निद्रा नआउनु,
ज्रिब्रोमा सेतो मैलो जम्मा हुनु आदि कब्जियतका लक्षण हुन् ।
कब्जियतमा के खाने ?
प्राकृतिक खाद्यपदार्थ नै सेवन गर्ने,
उम्रेको अन्नलाई प्राथमिकता दिने,
गहुँको बोटको रस पिउने,
गहुँ, चना, जौ आदिको चोकरसहितको रोटी मजाले चपाएर खाने,
खानामा जाउलो, मुँग र रहरको दालको मात्रा बढाउने,
फलमा केरा, स्याउ, अंगुर, मेवा, आँप, खरबुजा, किसमिस, काजु बदाम आदिको प्रयोग गर्ने,
खानामा भातभन्दा बढी तरकारी खाने,
सलगम, गाँजर, मुला, टमाटर, पालुंगो, मेथी, बन्दा, बेथे, प्याज आदिलाई सानासाना टुक्रा बनाएर कागती निचोरेर सलाद बनाएर खाने,
राति तातो दूध एक गिलास पिएर सुत्ने,
सर्बत, सुप, लस्सी, मोही, पानी धेरै मात्रामा पिउने,
कब्जियतमा के नखाने ?
मैदाबाट बनेका खाना कम खाने ।
बासी, चिसो, तारेको, भुटेको, पिरो, मसालेदार, चटपटे, चीज, मासु, अण्डा, मासको दाल, भण्टा, भिण्डी, मुसुरो, चनाको दाल नखाने,
खाना खानुभन्दा अगाडि, बीचमा र अन्तिममा एकैपटकमा धेरै पानी नखाने,
कब्जियत भइसकेपछि के गर्ने ?
दिनमा बिहान–बेलुका दुई पल्ट दिसा गर्ने बानी बसाल्ने,
बिहान ट्वाइलेट जानुअगाडि एक–दुई गिलास पानी पिउने,
बिहान–बेलुका २–३ किलोमिटर पैदल घुम्न जाने,
सधैँ परिश्रम हुने खालको काम वा व्यायाम गर्ने,
खानाको एक घण्टापछि दुई गिलास पानी पिउने,
तोरीको तेलले बिहान बेलुका मालिस गर्ने,
कहिलेकाहीं कब्जियत बढेमा कायम चूर्ण या त्रिफला चूर्ण मनतातो पानीमा हालेर खाने ।
कब्जियत भइसकेपछि के नगर्ने ?
अल्छी गरेर बस्ने बानी हटाउने,
दिसा लाग्दा रोक्ने बानी नगर्ने,
खाना खाएको लगत्तै मानसिक श्रम नगर्ने,
मानसिक तनाव, चिन्ता, क्रोध या शोकको अवस्थामा खाना नखाने,
कब्जियत भगाउन नियमित औषधि खाने बानी नबसाउने ।
-एजेन्सीकाे सहयाेगमा
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६