वर्षमा सरदर सय वटा नेपाली चलचित्र बन्छन् । त्यसमध्ये चर्चा मोटमोटी एक दर्जनले पाउँछन्, अनि त्यसको आधा चलचित्रले पनि लगानी उठाउन हम्मेहम्मे परेको बक्स अफिस रेकर्ड हेर्दा देखिन्छ । विगत एक दशकदेखिको यो अवस्था हेर्दा चलचित्र समीक्षक नै छक्क पर्छन् । किनकि ९८ प्रतिशत चलचित्रले लगानी उठाउन सकिरहेका हुँदैनन्, तर चलचित्र बन्ने क्रम घट्ने त होइन झन् बढिरहेको छ ।
रहस्य त्यति गहिरो पनि छैन कि त्यसको कारण नै थाहा पाउन नसकियोस् । यसको कारण खोज्ने हो भने सजिलै पत्ता लाग्न सक्छ । चलचित्र क्षेत्रमा पनि ‘ब्ल्याक मनी’को प्रयोग हुने गरेको आरोप लाग्दै आएको छ । त्यसबाहेक विदेशमा गएकाहरूले नामका लागि केही गरौँ भन्ने सोचले पनि चलचित्रमा लगानी गरेको पाइन्छ । व्यावसायिक हिसाबले चलचित्र बनाउनेहरू नगन्य छन् ।
विगतलाई केलाएर हेर्दा नेपाली चलचित्र बन्न थालेको आधा शताब्दी भइसक्यो । तर, फिल्म क्षेत्रले गति लिन अझै सकिरहेको छैन । अनुसन्धान गर्ने हो भने यसको तथ्य पत्ता लाग्ला । तर, के अब ‘कारण’ मात्रै दिएर चलचित्र क्षेत्रमा जीवन बिताएकाहरूले सुख पाउँछन् त ?
सुरुका केही दशक चलचित्र निर्माणको फम्र्याट बनाउन र सिक्नमै बित्यो । तर, पाँचौं दशक बितिसक्दा पनि अवस्थामा ‘त्यस्तो धेरै’ सुधार आएको पटक्कै देखिँदैन । समय अनुसार विकसित प्रविधि र फेसनले ल्याएको सुधारबाहेक उल्लेख गरिहाल्न मिल्ने केही देखिँदैन । झिनामसिना प्रगतिलाई छोड्ने हो भने समग्र प्याकेजमा कुरा गर्दा चलचित्रको गति उही नै छ ।
सुरुका अवस्थामा गरिने अभिनयमा वास्तवमै बालापन भेटिन्थ्यो । तर, त्यस बेला दर्शकको हैसियत अभिनयमाथि टिप्पणि वा समीक्षा गर्न सक्ने भइसकेको थिएन । दर्शकलाई कम आँकिएको होइन, अवस्था त्यस्तै थियो । अर्थात् त्यसपछि मात्रै दर्शकले विस्तारै चलचित्रबारे बुझ्दै गए र धारणा बनाउन सक्ने हुँदै गए ।
त्यसबेला हलमा पुग्नसक्नु नै दर्शकको जित हुन्थ्यो । शिशु अवस्थामा रहेको चलचित्र क्षेत्र बामे सर्दै गरेको अवस्थामा दर्शकले चाखेको त्यो ‘नयाँ चिजको स्वाद’ मिठै हुन्थ्यो । किनभने त्यसअघि न कुनै विदेशी भाषाका फिल्म हेरेका थिए न त कुनै टेलिभिजन ।
सुरुका २५ वर्षको अवस्था सन्तोषजनक नै मान्नुपर्छ । त्यसबेलाका चलचित्रमा मौलिकता थियो । संख्यात्मक रूपमा धेरै बन्दैनथे । व्यावसायिक हिसाबले सफल नै हुन्थे । त्यसताका चलचित्र ‘चिनो’ विश्वज्योति हलमा छ महिनासम्म चलेको इतिहास छ । भारतीय चलचित्र ‘शोले’ ले जुन स्थान बनायो, नेपालमा चिनो त्यस्तै चलचित्र बन्न पुग्यो ।
चार दशक पार गर्दैगर्दा नेपाली चलचित्र क्षेत्र फेरि ओरालो लाग्यो । यो क्रम झण्डै एक दशक चल्यो । पाकिस्तानमा झैँ नेपालमा पनि चलचित्र क्षेत्रमा संकटकाल घोषणा गर्न धेरै माग गरिएको थियो । अर्कातिर उद्योगको रूपमा स्थापित गर्दा पो चलचित्र क्षेत्र उँभो लाग्छ कि भन्ने समूह पनि नभएका होइनन् । तर, बहाना जति गरे पनि चलचित्र राम्रो बन्नैपर्छ । अन्तिम सत्य त्यही हो ।
लामो खडेरीपछि नयाँ पुस्ताले नयाँ धारका चलचित्र प्रयोगमा ल्याए । जस्तै ‘लूट’ र ‘चपली हाइट’ । यी दुई चलचित्रले ‘छक्का’ नै हाने भन्दा हुन्छ । पुराना फम्र्याटका चलचित्र बनाउने त राम्रा चलचित्रकर्मी नै होइनन् कि क्याहो ! जस्तो अवस्था बनाइदिए यी फिल्मले । यसले चलचित्र क्षेत्रलाई दुई धारमा बाँडिदियो । ‘नयाँ धार’ र ‘पुरानो धार’ का चलचित्रकर्मीबीच एक किसिमको शीतयुद्ध नै चल्यो । दुवै प्रकारका चलचित्रहरू बन्ने क्रम जारी रहे । तर, च्याउसरि आएका नयाँ धारका भनिएका चलचित्र समयक्रमसँगै बढारिएर गए ।
दीपक–दीपा (टेलिशृंखला) ब्रान्ड हाबी
चलचित्र बन्ने क्रम जारी छ । चलचित्र बन्न थालेको पाँच दशक बित्दा विभिन्न प्रयोगहरू भए । कति चलिरहे, कति बिलाए । हास्य विधामा स्थापित टेलिशृंखला तीतो सत्य ब्रान्डले फेरि पुराना ती दुवै धारलाई भुत्ते बनाइदियो । र, आफ्नै टेलिशृंखला धारलाई केही परिष्कृत गरेर मेन स्ट्रिममा ढालिदियो ।
चलचित्र इतिहासमा रेकर्ड राख्न सफल दीपक–दीपा ब्रान्डको चर्चा यति चुलियो कि उनीहरूको प्रशंसा सुनेर अन्य चलचित्रकर्मीलाई तीतो लाग्न थाल्यो । बर्सेनि एउटा चलचित्र निर्माण गर्दै आएका उनीहरूले यस वर्ष ब्रेक नै गर्न बाध्य भए ।
उनीहरूको सफलतापछि सोही विधामा स्थापित मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, राजाराम पौडेल लगायतको जम्बो टोलीले फेरि अर्को एउटा चलचित्र निर्माण गर्यो, ‘शत्रु गते’ । यो पनि हिट नै भयो । यस चलचित्रमा पनि दीपक र दीपा दुवैले अभिनय गरेका थिए ।
त्यसपछि मनोज गजुरेल, सुलेमान शंकरको इकु, माधव त्रिपाठीको जादुगर लगायत अन्य केही चलचित्र पनि बने । सफलता असफलता एउटा कुरा होला, तर प्रयोग हुने क्रम जारी छ ।
खस्किँदो अनमोल ब्रान्ड
अभिनेता भुवन केसीका छोरा अनमोल केसीको उदय पनि चलचित्र जगतलाई चर्चाको विषय बन्यो । होस्टेल, जेरी, ड्रिम लगायत आधा दर्जन फिल्ममा अभिनय गरे पनि उनका चलचित्रभन्दा ‘व्यक्ति’ चर्चित बन्यो ।
अनमोल केसी जुन उचाइमा पुग्न खोज्दै थिए, त्यहाँ नपुग्दै उनका चलचित्र सेलाउँदै जान थाले । सानो उमेरमै क्रेज बढ्नेबित्तिकै उनको डिमान्ड यति ‘हाइ’ भयो कि त्यसले सामान्य एउटा सिंगो चलचित्र बन्छ । उनको त्यो अस्वभाविक डिमान्डले चलचित्र नगरीमा अर्को धमाका मच्चाइदियो ।
विस्तारै उनका चलचित्र चल्न छोडेपछि उनको फ्यान फलोवर पनि घट्दै जान थाल्यो । अहिले थिएटरहरूमा उनी अभिनीत चलचित्र क्याप्टेन प्रदर्शनमा छ । तर, यो चलचित्रले पनि दुई दिन पनि सोचेको व्यापार गर्न सकेन । बरु बुलबुलको प्रशंसा बढी नै थियो । दर्शकको राम्रो प्रतिक्रिया पाएका कारण बुलबुलले कमाइका साथै चर्चा धेरै पाउन सक्यो ।
यादव खरेल, चलचित्रकर्मी
सिनेमाको क्यारेक्टर नै चर्चाबाट आकर्षित भएको हुन्छ । बक्स अफिसमा हिट हुन्छ भन्ने धेरैको अपेक्षा हुन्छ । थोरै संख्या मात्रै हिट हुन्छ, त्यही पनि बन्ने क्रम नघट्नुमा आकर्षण नै मुख्य हुन्छ । यस्तो समस्या बलिउड र हलिउड जताततै हुन्छ । तर, नेपालको कुरा गर्दा अलि फरक पाइन्छ । व्यावसायिक व्यक्तिले मात्रै चलचित्र बनाएको हुँदैन । अनुभव नभएकाहरूले बनाउँदा पनि यस्ता समस्या आउन सक्छन् । सिनेमाको आकर्षण भएकाले पनि यस्तो भएको हुनुपर्छ । सीमित बजार भएका कारण पनि यस्तो हुने गरेको पाइन्छ ।
फिल्मको ज्ञान नहुनु भनेकै अन्य क्षेत्रकाहरू पनि यस क्षेत्रमा प्रवेश गर्नु हो । तसर्थ राम्रोसँग बुझेकाहरूले चलचित्र निर्माण गर्दा जोखिम केही कम हुने गर्छ । प्राविधिक ज्ञान कम भएकाहरूले गर्दा पनि यस्तो हुने गर्छ । समग्रमा विषय, प्रविधि र बजारको ज्ञान नहुनेले लगानी गर्नुु हँुदैन । बजारमा जे बिक्छ त्यही बिक्री गर्न खोज्नु हुँदैन ।
निशा अधिकारी, अभिनेत्री
हाइ कम्पिटिसन हुनु नै सबैभन्दा खतरनाक हुँदोरहेछ । चलचित्रका विकल्पहरू अहिले प्रसस्त छन् । हरेकका हातमा स्मार्टफोन छ । साथै इन्टरनेट र युट्युब च्यानल छन् । प्रतिस्पर्धा धेरै भएका कारण पनि यस्तो भएको हो । बलिउडमा पनि यस्तै समस्या छ । मनोरञ्जनका अन्य धेरै माध्यम भए, नेपालमा बलिउड तथा हलिउडका चलचित्र पनि सँगै चल्छन् । उनीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । हलिउड र बलिउडसँग नेपाली चलचित्रले प्रतिस्पर्धा गर्न सकिरहेको हुँदैन । दर्शकले सोचेको जस्तो चलचित्र बनाउन पनि मुस्किल छ । अडियन्सको मनोविज्ञान बुझ्न पनि गाह्रो छ । अडियन्स आफै युट्युब हुँदै फिल्म बनाउन थालिसकेका छन् ।
चलचित्र कला हो । कला एकदमै प्रिय हुन्छन् । सौगात र दयाले थिएटरमा जसरी निरन्तरता दिए, पेन्टरहरूले वर्षौंदेखि निरन्तर लागिरहेका छन्, त्यसैगरी चलचित्रमा निरन्तर नलाग्नुको कारण पनि एउटा कारण हुनसक्छ । एकै दिन लगानी उठाएका चलचित्रहरू पनि छन् । कतिपय भने यसकै लोभले पनि चलचित्र बनाउनतिर लागे । कारण, यस्तैयस्तै हुन सक्छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५