भाङ, धतुरो र गाँजालाई भगवान् शिवको प्रसादको रूपमा लिने गरिन्छ । महाशिवरात्रि पर्वमा त झनै भाङको चर्चा हुने गर्छ । पशुपति क्षेत्रभित्र केही वर्षअघिका शिवरात्रिमा गाँजा, भाङ खुला रूपमा बिक्री वितरण हुने गर्थ्याे । तर पछिल्ला केही वर्षदेखि सरकारले पशुपति क्षेत्रमा गाँजा, भाङ जस्ता पदार्थ निषेध गरेको छ । यस वर्षको शिवरात्रिमा पनि पशुपति क्षेत्रभित्र नशालु पदार्थ निषेध गरिएको पशुपति विकास कोषले जनाएको छ ।
गाँजा, भाङ, धतुरो लागुऔषधजन्य तथा औषधिजन्य पदार्थ हुन् । यसलाई सेवन गर्दा शरीरमा हानि पुर्याउँछन् तर यिनलाई उचित प्रशोधन गरी मात्रा मिलाएर खाँदा औषधिको काम गर्छ । गाँजा, भाङ, धतुरोलाई आयुर्वेदिक र एलोपेथिक औषधिका रूपमा प्रयोग गरिँदै आएको छ । दुखाइ कम गर्ने औषधि (पेन किलर) र श्वासप्रश्वाससम्बन्धी रोगको औषधिमा यी जडीबुटीको मिश्रण गरिएको पाइन्छ ।
यी हुन् भाङका औषधीय गुणहरू
भोक नलाग्ने, मांशपेशीको दुखाइ, पेट दुखाइ, निद्रा नलाग्ने, गोनोरिया, महिनावारी हुँदा धेरै रगत बग्ने, पखाला, हैजा, पानीदेखि डराउने, धनुष्टंकारमा यसको पातको रसको सेवन गर्नाले फाइदा गर्छ ।
रगतमासी परेको बेलामा यसको पातको काँडा बनाएर खाइन्छ । अजीर्ण–अपच, रगत बग्ने, यौनशक्तिमा कमी, पेटमा जुका परेमा, घाउ आएको बेलामा भाङको बिउको चूर्णको सेवन गरिन्छ । यसको सेवनले मात लाग्छ । होली र शिवरात्रि पर्वमा यसको मिठाई बनाएर खाइन्छ ।
- कान चर्किने रोग भएमा भाङको रस मनतातो गरी २ थोपा हाल्ने गरेमा ठीक हुन्छ ।
- भाङको लड्डु खानाले जस्तो मानिसलाई पनि राम्ररी निद्रा पर्छ । भाङको गेडाको चूर्ण आधा चम्चामा सिदेनुन एक चिम्टी हालेर पानीसँग खाएमा मस्तसँग निद्रा लाग्नेछ ।
- भाङको पातको रस कंचटमा दल्नाले पनि टाउको दुखेको ठीक हुन्छ ।
- एक चम्चा भाङको रसमा एक चिम्टी फुराएको हिङ फिटेर बिहान–बेलुका खाने गरेमा ठीक हुन्छ ।
- भाङको पातको रसले नियमित तेल लगाएझैँ टाउकोमा राम्ररी दलेर नुहाउनाले चाया विस्तारै हराउँछ ।
- एक चम्चा मनतातो भाङको रसमा एक चिम्टी मरिच र मिश्री फिटेर खाने गरेमा दमको वेग कम हुँदै जान्छ ।
- भाङको तेलको मालिस गर्नाले पनि वाथ रोग निको हुन्छ ।
- भाङको पातको लेदो र आलस पिसेर मिसाएर अल्काईको घाउमा लेप लगाउने गरेमा रगत आउने, दुख्ने सम्पूर्ण ठीक हुन्छ ।
- भाङको चूर्ण एक भाग, सख्खर दुई भाग मिलाएर ४ गोली बनाउने र एकएक गोली २–२ घण्टामा खाने गरेमा ठीक हुन्छ ।
- एक डाडु भाङको गेडाको धूलोमा एक चम्चा मरिचको धूलो मिसाउने र बिहान खाली पेटमा एक चम्चा महसँग फिटेर खाने गर्नाले भोक राम्ररी जाग्नेछ ।
- भाङको पात पानीमा पिसेर लेप लगाउनाले घाउ, खटिरा आदि निको हुन्छ ।
गाँजाले के गर्छ ?
गाँजा सेवन गर्दा मानिसको स्वभावमा क्षणभरमै परिवर्तन आउने गर्छ । हाम्रो मस्तिष्कमा प्राकृतिक रूपमा पाइने क्यानाबिनोइड भन्ने रसायन हुन्छ, जसले विचार र सोचाइलाई तेजिलो र तीखो बनाउने काम गर्छ । गाँजामा पनि ६० बढी अलग प्रकारका क्यानाबिनोइड पाइन्छ । त्यसैले गाँजा सेवन गर्दा ती रसायन हाम्रो मस्तिष्कमा जान्छन् । तीमध्ये टेट्रा हाइट्रो क्यानाबिनोल (टिएचसी) प्रमुख हो । सामान्यतः बाहिरी वातावरणले गर्दा हाम्रो ध्यान कुनै विषयमा केन्द्रित हुन पाउँदैन । तर गाँजामा पाइने यो क्यानाबिनाइड रसायनले बाहिरी वातावरणलार्ई खुम्च्याएर आफ्नो प्रभाव फैलाउने गर्छ, जसका कारण मानिस एकाग्र बन्न पुग्छ ।
क्यानाबिनोइडले निद्रा, भोक, प्यास, भावना आदिमा पनि प्रभाव पार्छ, जसका कारण कोही सुतिहरने, कोही भोक लाग्यो भनिरहने, कोही हाँसिरहने त कोही रोइरहने आदि असरहरू देख्न र सुन्न पाइन्छ । क्यानाबिनोइडले मस्तिष्कमा रहेको आनन्दको केन्द्र डोपामाइन प्रक्रियामा प्रभाव पारी कतिपयमा आनन्ददायी भावना पैदा गरिदिन्छ । व्यक्तिको आआफ्नो गुणको आधारमा गाँजाको असर फरक फरक देखिन्छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५