ढाका । बंगलादेशले चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) मा सामेल हुन गएकी किशोरीलाई बंगलादेशले पनि नागरिकता नदिने भएको छ ।
सन् २०१४ मा आइएसमा सामेल हुन गएकी बंगलादेशी मूलकी १५ वर्षीया किशोरी शमीमा बेगमको नागरिकता बेलायतले रद्द गर्दै बंगलादेशबाट नागरिकता लिनसक्ने दाबी गरेको हो ।
बेगम हालै सिरियाको एक शिविरमा भेटिएकी थिइन् । उनले आफूले आईएसमा लागेर गल्ती गरेको भन्दै अब बेलायत फर्किएर आफ्नो बच्चा हुर्काउन चाहेको उल्लेख गरेकी थिइन् ।
बंगलादेशले बेलायती किशोरीको बंगलादेशी नागरिकताका लागि दाबी नपुग्ने बताएको छ । बेलायत सरकारले भने मंगलबार नै किशोरीको नागरिकता रद्द गर्ने निर्णय गरेको थियो ।
बेलायतको गृहमन्त्रालयले शमीमाको बंगलादेशी नागरिकतामाथि दाबी गर्न हकदार भएको उल्लेख गरेको थियो । तर बंगलादेशले ती किशोरी नागरिकताको हकदार नभएको स्पष्ट पारेको छ ।
बंगलादेशको विदेशमन्त्रालयले भनेको छ, ‘बंगलादेश शमीमा बंगलादेशी नागरिक नभएको ठान्दछ । उनी जन्मका हिसाबले पनि बेलायती नागरिक हुन् र उनले दोहोरो नागरिकताका लागि बंगलादेशमा कहिल्यै पनि आवेदन गरेकी छैनन् ।’
वक्तव्यमा भनिएको छ, ‘शमीमाको परिवार बंगलादेशी मूलको भएपनि कहिल्यै पनि बंगलादेश आएन । यसकारण उनलाई बंगलादेशमा प्रवेश गर्ने अनुमति दिने कुरै आउँदैन ।’
यद्यपि उनले बेलायत सरकारको नागरिकता खारेज गर्ने निर्णयविरुद्ध अपिल गर्न पाउनेछिन् । अन्तर्राष्ट्रिय कानुनअनुसार राज्यबिहीन नहुनेगरी नागरिकता खारेज गर्न सक्छ ।
तर, बेलायतले नागरिकता रद्द गर्ने र बंगलादेशले नागरिकता नदिने स्पष्ट भएको अवस्थामा उनले बेलायती नागरिकता कै लागि अपिल गर्न सक्नेछिन् । शमीमाको परिवारका वकिल तस्निमा अकुंजीले यसअघि नै किशोरीको जन्म बेलायतमा भएको र उनीसँग बंगलादेशी पासपोर्ट नभएको उल्लेख गरेकी थिइन् ।
अमेरिकाद्वारा फर्किन दिन अस्वीकार
यसैबीच, अमेरिकाले सिरियामा इस्लामिक स्टेट (आईएस) मा सामेल भएकी अलबामाकी एक महिलालाई उनका छोरासँग फर्किन अनुमति दिन अस्वीकार गरेको छ ।
अमेरिकाले उनी अब अमेरिकी नागरिक नभएको उल्लेख गरेको छ । महिलाका वकिलले भने यो निर्णयविरुद्ध अदालतमा चुनौती दिने भएका छन् ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आफ्नो संक्षिप्त वक्तव्यमा यो निर्णय कसरी गरिएको हो भन्नेबारेमा केही उल्लेख गरेका छैनन् ।
उनले भने, ‘होदा मुथाना अमेरिकी नागरिक हैनन् र उनलाई अमेरिका प्रवेश गर्न दिइने छैन । उनीसँग कुनै कानुनी आधार, वैध पासपोर्ट र अमेरिकाको यात्राका लागि भिजा छैन ।’
महिलाका वकिल हसन शिबलेले मुथाना अमेरिकामा जन्मिएकी र सन् २०१४ मा इस्लामिक स्टेटमा सामेल हुनुभन्दाअघि अमेरिकाको वैध पासपोर्ट भएको दावी गरेका थिए ।
उनले हुदाले आतंकवादी संगठन छोडेको र उनी आफ्ना १८ महिनाका छोराको हेरचाहका लागि कानुनी झन्झटबिना घर फर्किन चाहेको उल्लेख गरेका छन् ।
मुथाना र उनका छोरा यो समय आईएस छाडेर भागेका अन्य दुई जनासँगै सिरियाको शरणार्थी शिविरमा बसिरहेका छन् । यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि बुधबार ट्विट गर्दैै अमेरिका प्रवेश गर्न नदिने निर्णयको समर्थन गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५