काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता गराएका छन्।
राणाले शुक्रबार ७९ सदस्यीय केन्द्रीय समिति रहने गरी आफ्नो नेतृत्वमा नयाँ दल दर्ता गराएका हुन्। पार्टीको चुनाव चिह्न त्रिभुज राखिएको छ भने झण्डामा सेतो रंगको त्रिभुज चिह्न रहने जनाइएको छ।
मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंको संलग्नताबिनै राणाले पार्टी दर्ता गराएका हुन्। पार्टीभित्र शक्ति बाँडफाँटको विषयमा सहमति जुट्न नसकेपछि दल दर्ताको अन्तिम समयमा राणा र प्रसाईं अलग भएका हुन्।
यसअघि राणा र प्रसाईं मिलेर ‘जय नेपाल पार्टी’ गठन गर्ने तयारी गरेका थिए। तर, नेतृत्व तथा शक्ति बाँडफाँटलगायत विषयमा मतभेद बढेपछि राणाले प्रसाईंको सहभागिताबिनै पार्टी दर्ता प्रक्रिया अघि बढाएका हुन्।
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३