सुर्खेत । प्रहरीले सुर्खेतको बराहताल गाउँपालिका–६ स्थित बिउरेनीको जङ्गलबाट चार थान भरुवा बन्दुक बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहोराका अनुसार शुक्रबार बिहान करिब १०ः१५ बजे जङ्गलबाट ती बन्दुक बरामद गरिएको हो।
भरुवा बन्दुक लुकाइछिपाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी चौकी बाबियाचौरबाट प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमान्डमा आठ जनाको प्रहरी टोली परिचालन गरिएको थियो।
खोजी गर्ने क्रममा प्रहरीले काठको थुप्रोभित्र लुकाइराखेको अवस्थामा चार थान बन्दुक फेला पारेको हो। बरामद भएका बन्दुकमध्ये तीन थान ‘लोडेड’ अवस्थामा रहेको प्रहरीले जनाएको छ।
बरामद बन्दुकबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३