काठमाडौं । राजावादी नेता तथा अभियन्ता दुर्गा प्रसाईं र नेता डा. धवलशमशेर राणा मिलेर खोल्ने भनिएको ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता हुनुअघि नै विवादमा परेको छ।
दुर्गा प्रसाईं र डा. धवलशमशेर राणाबीच आपसी मतभेद बढेपछि प्रसाईंको सहमतिबिनै राणाले शुक्रबार पार्टी दर्ता गर्ने तयारी गरेका छन्।
डा. राणाले बुधबार आह्वानपत्र जारी गर्दै साउन २६ गतेको कार्यदलको निर्णयअनुसार साउन २९ गते शुक्रबार दिउँसो १२ः१५ बजे निर्वाचन आयोग, कान्तिपथमा दल दर्ता गरिने जानकारी दिएका छन्। उनले पार्टीमा आबद्ध नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई उक्त समयमा उपस्थित हुनसमेत आग्रह गरेका छन्।
केही दिनअघि दुर्गा प्रसाईंले डा. राणामाथि गम्भीर आरोप लगाएपछि उनीहरूबीचको सम्बन्ध थप चिसिएको हो। प्रसाईंले राणाले राजसंस्था नचाहेको र ‘राणाहरू देशमा भएसम्म राजा नआउने’ भन्दै अभिव्यक्ति दिएको आरोप लगाएका थिए।
दरबार हत्याकाण्डबारे राणाले राखेको धारणाप्रति आपत्ति जनाउँदै प्रसाईंले भनेका थिए, ‘धवलजीको कुरा सुन्दा पार्टीभित्र सीआईए पसेको जस्तो लागेको छ।’
प्रसाईंको उक्त अभिव्यक्तिपछि राणा उनीसँग असन्तुष्ट बनेको बताइएको छ। यससँगै प्रस्तावित ‘जय नेपाल पार्टी’को नेतृत्व र गठन प्रक्रियालाई लिएर विवाद चुलिएको हो।
यता, प्रस्तावित पार्टीको कार्यदलका सदस्यसचिव सगुन सुन्दर लावतीले प्रसाईं सहभागी भए पनि नभए पनि दल दर्ताको प्रक्रिया नरोकिने बताएका छन्।
लावतीका अनुसार प्रसाईंका पछिल्ला अभिव्यक्ति व्यक्तिगत हुन्। मुकुन्द श्याम गिरीको नेतृत्वमा रहेको कार्यदलले विधिवत रूपमा दल दर्ता गर्ने निर्णय गरिसकेको र उक्त कार्यदलमा प्रसाईं पक्षको समेत सहभागिता रहेको उनले बताएका छन्।
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३