काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार पनि ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा जारी छ ।
बैठकको सुरुवात गर्दै पार्टी सभापति गगन थापाले निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्य लाभको कामनासहित स्वदेश फर्किएकोमा स्वागत गरेका छन् ।
बैठकमा सहभागी एक पदाधिकारीका अनुसार सभापति थापाले बैठक सुरु गर्दै भने, ‘निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्य लाभको कामनासहित स्वदेशमा हार्दिक स्वागत गर्दछु।’
गत फागुन १३ गते स्वास्थ्य उपचारका लागि सिंगापुर गएका देउवा झन्डै पाँच महिनापछि बिहीबार स्वदेश फर्किएका हुन् । सिंगापुरका विभिन्न अस्पतालमा उपचार गराएपछि उनी थप उपचार तथा चिकित्सकीय परामर्शका लागि हङकङ पुगेका थिए ।
यसअघि जेनजी आन्दोलनका क्रममा भदौ २४ गते देउवा दम्पतीमाथि बुढानीलकण्ठस्थित निवासमै कुटपिट भएको थियो । उक्त घटनामा उनीहरू गम्भीर रूपमा घाइते भएका थिए ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३