काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई अब कुनै व्यक्तिगत लाभ वा शक्तिको पद आवश्यक नरहेको बताएका छन् ।
झन्डै पाँच महिनाको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएसँगै अपिल जारी गर्दै देउवाले आफ्नो बाँकी जीवन राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि समर्पित गर्ने बताएका हुन् ।
देउवाले आफू शक्ति प्राप्त गर्न नभई मुलुकमा विद्यमान राजनीतिक चुनौतीलाई चिर्दै राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको उल्लेख गरेका छन् ।
‘मैले राजनीतिक रूपमा लिनु पर्ने केही छैन, तर मेरो विगतको अनुभव मुलुक र पार्टीले लिन सक्नु पर्छ र त्यो अनुभव नयाँ पुस्तालाई शेयर गर्नु मेरो दायित्व हो,’ देउवाले अपिलमा भनेका छन् ।
उनले अहिले पनि मुलुकलाई सर्वपक्षीय एकताको आवश्यकता रहेको बताएका छन् । ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ। मलाई लाग्छ, फेरि ४७ वर्षपछि हाम्रो राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको छ,’ उनले भनेका छन् ।
देउवाले अब आफू नेताको भूमिकाभन्दा पनि मुलुकको एक सचेत नागरिकका रूपमा क्रियाशील रहने बताएका छन् ।
‘म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु। विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर छु,’ देउवाले अपिलमा उल्लेख गरेका छन्।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३