काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।
नेताहरू काठमाडौंको खुलामञ्चमा भेला भएपछि बैठक सुरु भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
उनका अनुसार बन्दसत्रमा पेस गरिने विभिन्न प्रतिवेदन तथा प्रस्तावलाई केन्द्रीय कार्यसमितिले पारित गरेपछि मात्रै बन्दसत्र सुरु हुनेछ ।
‘पार्टीले विभिन्न समितिलाई जिम्मेवारी दिएको छ । त्यो जिम्मेवारीअनुसार उहाँहरूले प्रस्ताव पेस गर्नुहुनेछ । सोहीअनुसार बैठकले एजेन्डा अनुमोदन गर्छ र सोही आधारमा बन्दसत्र बस्छ,’ चालिसेले भने ।
बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधनसम्बन्धी प्रस्ताव तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको उनले बताए ।
बन्दसत्रमा पार्टीका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुनेछ ।
बन्दसत्र सम्पन्न भएपछि महाधिवेशनको मुख्य कार्यभारका रूपमा रहेको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।
प्रकाशित मिति: सोमबार, असोज १९, २०८३