काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन विधिवत् रूपमा सुरु भएको छ ।
काठमाडौंको खुलामञ्चमा कांग्रेस सभापति गगन थापाले पानसमा दीप प्रज्वलन गरी महाधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटनअघि कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए ।
महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरू कार्यक्रममा उपस्थित छन् ।
महाधिवेशनमा सभापति थापाले आगामी पाँच वर्षका लागि पार्टीको राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र प्रस्तुत गर्ने तयारी छ ।
बन्दसत्रमा नीति, कार्यक्रम तथा समसामयिक प्रतिवेदनमाथि छलफल हुनेछ । उम्मेदवारी मनोनयनअघि विधान संशोधन प्रस्तावमाथि महाधिवेशन हलमै छलफल गरी आवश्यक निर्णय गर्ने तयारी कांग्रेसको छ ।
कांग्रेसले महाधिवेशनस्थल, मञ्च, आवास, भोजन, स्वास्थ्य, अतिथि सत्कार तथा सञ्चार व्यवस्थापनका लागि छुट्टाछुट्टै संयन्त्र परिचालन गरेको छ । सभापति थापाको संयोजकत्वमा केन्द्रीय व्यवस्थापन समिति गठन गरिएको छ ।
महाधिवेशनमा ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । उद्घाटन तथा बन्दसत्र दुवै खुलामञ्चमै गर्ने तयारी गरिएको छ ।
प्रतिनिधि दर्ता असोज १७ गतेदेखि सुरु भएको हो भने असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन गर्ने कार्यतालिका रहेको छ ।
प्रकाशित मिति: आइतबार, असोज १८, २०८३