काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा पूर्वसभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् ।
देउवा सहभागी हुने कुनै संकेत नरहेको उनका स्वकीय सचिव भानु देउवाले बताएका छन् । आज (असोज १८) काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा अतिथिका रूपमा सहभागी हुन देउवालाई निमन्त्रणा गरिएको छ ।
तर, निमन्त्रणा गर्ने तरिकाप्रति देउवा पक्षले असन्तुष्टि जनाएको छ । कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीसहितको टोली शनिबार बेलुका चुनदेवीस्थित देउवा बस्दै आएको निवासमा पुगेर निमन्त्रणा छाडेको थियो । देउवालाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिएको थियो ।
‘हिजो राति अबेर आएर निमन्त्रणा बाहिरै छोडेर जानुभएको रहेछ । निमन्त्रणा दिनु नै थियो भने तीन–चार दिनअगाडि नै आएर दिए हुन्थ्यो,’ भानु देउवाले भने, ‘घरमा कोही नभएका बेला आएर निमन्त्रणा छोडेर पनि कहीँ हुन्छ ?’
कांग्रेसको संस्थापनइतर पक्षले मंसिरमा महाधिवेशन गर्ने गरी प्रक्रिया अघि बढाइरहेको छ । त्यसअन्तर्गत अहिले वडा अधिवेशन जारी छ ।
प्रकाशित मिति: आइतबार, असोज १८, २०८३