विराटनगर । कोशी प्रदेश योजना आयोगका नवनियुक्त दुई सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आयोगका सदस्यमा नियुक्त तोयानाथ खतिवडा (रुपेश) र हरिकुमारी राईलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ समारोह मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरिएको थियो ।
प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विराटनगर–३ निवासी खतिवडा र खोटाङकी राईलाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
यसअघि सत्ता गठबन्धनका तर्फबाट नियुक्त नेपाली कांग्रेसनिकट दुई सदस्यले राजीनामा दिएपछि आयोगमा पद रिक्त भएको थियो । सोही रिक्त स्थानमा खतिवडा र राईलाई नियुक्त गरिएको हो ।
यसैबीच, मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री सम्मेलनको मिति पनि परिवर्तन गरेको छ । असोज २२ र २३ गतेका लागि तय गरिएको सम्मेलन अब असोज २७ र २८ गते आयोजना गर्ने निर्णय भएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३