काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको मतभेद १५औँ महाधिवेशनमार्फत समाधान गर्दै कांग्रेसलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै देउवाले १५औँ महाधिवेशनअन्तर्गत आजदेखि सुरु हुने वडा अधिवेशनमा उत्साहका साथ सहभागी हुन पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका हुन्।
देउवाले कांग्रेसको झण्डै आठ दशक लामो इतिहासमा १५औँ महाधिवेशन महत्वपूर्ण रहेको उल्लेख गरेका छन्। लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासनका लागि कांग्रेसले गरेको त्याग, बलिदान र संघर्षलाई थप मजबुत बनाउन महाधिवेशन महत्वपूर्ण हुने उनको भनाइ छ।
उनले देशभरका ६ हजार ७ सय ४३ वडामा विधि र प्रक्रिया पूरा गरी हुने अधिवेशनमा हर्षोल्लासका साथ सहभागी भएर सम्पन्न गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
देउवा पक्षले १५औँ महाधिवेशनको छुट्टै कार्यतालिका अघि बढाउँदै बिहीबारदेखि वडा अधिवेशन सुरु गरेको हो। उक्त पक्षले असोज २० गते गाउँ तथा नगरपालिका, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय, कात्तिक १५ गते जिल्ला र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका बनाएको छ।
देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका निर्वाचन आयोगलाई जानकारी गराइसकेको छ।
कांग्रेसभित्र पार्टीको आधिकारिकता र महाधिवेशनको विषयमा विवाद कायम रहेका बेला दुवै पक्षले आ–आफ्नो प्रक्रियाअनुसार महाधिवेशन अघि बढाइरहेका छन्।
प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३