काठमाडौं । सेयर बजार परिसूचक नेप्से घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । मंगलबार ९ अंक घटेको नेप्से बुधबार थप ४.८२ अंकले घटेको हो ।
सरकारले सेयर बजार सुधारका लागि २१ बुँदे कार्ययोजना ल्याए पनि त्यसको सकारात्मक प्रभाव बजारमा देखिन सकेन । नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्डलगायत सम्बन्धित निकायले कार्ययोजनाअनुसारका विषय सम्बोधन गरिसकेको अवस्थामा समेत बजारमा सुधार आउन सकेन ।
बुधबार प्रतिनिधिसभाको अर्थ समितिले सेयर बजारसँग सम्बन्धित विषयमा सरोकारवालासँग छलफलसमेत गरेको थियो । समितिले धितोपत्र ऐन संशोधन गर्न नयाँ विधेयक संसद्मा प्रस्तुत गर्न सरकारलाई निर्देशन दिएको भए पनि त्यसको प्रभाव पनि बजारमा देखिएन ।
बुधबार नेप्से परिसूचक ४.८२ अंकले घटेर कारोबार रकम पनि घटेको छ । यस दिन ४ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार भने ५ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको थियो ।
बुधबार कारोबार भएका कम्पनीमध्ये १०९ वटाको सेयर मूल्य बढेको छ भने १५७ कम्पनीको घटेको छ । १३ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
यस दिन सिन्धु विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । बैंकको प्रतिकित्ता सेयर मूल्य १४.३७ प्रतिशतले बढेको छ ।
समूहगत परिसूचकतर्फ बैंकिङ ५.९७, विकास बैंक २७.०७, वित्त ७.३७, होटल ३८.२०, लगानी ०.१८, जीवन बीमा ४२.०३, उत्पादनमूलक २६.५८, लघुवित्त १.७२, निर्जीवन बीमा १६.१२ र अन्य समूह ४.०६ अंकले घटेका छन् ।
यस्तै, व्यापार ३८, सामूहिक लगानी कोष ०.०५ र जलविद्युत् समूह ०.७० अंकले बढेका छन् ।
प्रकाशित मिति: बुधबार, असोज १४, २०८३