काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशिष्ट व्यक्तिहरूलाई बिनाकारण पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् ।
सोमबार संघीय संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ जस्तो नियत सरकारको हो भने त्यो सरकारकै लागि घातक हुने बताए ।
यस्ता घटना दोहोरिन नदिन उनले सरकारलाई आग्रह गरे । सुरक्षा थ्रेटको कारण देखाएर पक्राउ गरिएको विषय सामान्य मानिसले पनि बुझ्ने खालको बहानाबाजी मात्र भएको उनको टिप्पणी थियो ।
यदि साँच्चिकै सुरक्षा थ्रेट थियो भने पक्राउ गर्नुको सट्टा सम्बन्धित व्यक्तिको घरमै सुरक्षा बढाउनुपर्ने प्रचण्डले बताए ।
यसैबीच, संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो ठाउँबाट बोल्नुपर्ने विषय नै उठाएको प्रचण्डको प्रतिक्रिया थियो ।
प्रधानमन्त्रीले बोलेको विषयलाई लिएर अनावश्यक बढाइचढाइ गर्न आवश्यक नरहेको भन्दै उनले बालेनको ठाउँमा अरू जो भए पनि त्यही कुरा बोल्ने बताए ।
प्रकाशित मिति: सोमबार, असोज १२, २०८३