२६ माघ, काठमाडौँ । संविधानसभाबाट संविधान जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरियो । काँग्रेस केन्द्रीय कार्यालयद्वारा आज सानेपामा आयोजित कार्यक्रममा काँग्रेसका शीर्ष नेताहरुले संविधानको प्रभावकारी कार्यान्वयन र निर्धा्रित मितिमा तीनै तहका निर्वाचन गर्न सकेमात्र स्व कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो । कोइरालाको अकल्पनीय रुपमा २०७२ माघ २५ गतेराति निधन भएको थियो । कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले कोइरालाको दृढ अठोटले संविधानबाट संविधान जारी गर्न सफल भएको उल्लेख गर्र्दै संविधान कार्यान्वयन अहिलेको प्रमुख चुनौती रहेको बताउनुभयो ।
जीवनभर सङ्घर्ष गर्नुभएका स्व कोइराला सफल नेता भएको उल्लेख गर्दै सभापति देउवाले निर्धा्रित समयभित्र संविधानअनुसार तीनै तहका निर्वाचन गर्न सकेमात्र राजनीतिक स्थायित्व भई २००७ सालदेखिको प्रजातन्त्र संस्थागत गर्ने लडाइँ अन्त्य हुने धारणा व्यक्त गर्नुभयो । निर्वाचनप्रतिको अन्योलताका सम्बन्धमा सभापति देउवाले आवश्यक कानुनसमेत पारित भइसकेको सन्दर्भमा कुनै पनि हालतमा निर्वाचन भएरै छाड्ने जिकिर गर्नुभयो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले स्व कोइरालाको दृढ निश्चय, सिद्धान्तप्रतिको निष्ठा र असल आचरणको सबै नेता कार्यकर्ताले आत्मसात् गर्नुपर्ने बताउँदै संविधान जारी गर्दाको दृढता दलहरुले कार्यान्वयनमा पनि देखाउनुपर्ने उल्लेख गर्नुभयो । काँग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले नेपालमा प्रजातन्त्र स्थापनाका लागि स्व कोइरालाको योगदान अतुलनीय रहेको स्मरण गर्दै संविधानको कार्यान्वयन र निर्धा्रित समयमा तीनै तहका निर्वाचन गर्न सकेमात्र स्व कोइरालाप्रति श्रद्धाञ्जलि हुने बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, माघ २५, २०७३