काठमाडौं । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहसँग विभिन्न सात विषयमा जवाफ मागेको छ ।
सोमबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै पार्टीका तर्फबाट सांसद ध्रुवराज राईले सभामुखसँग समय मागेर प्रधानमन्त्रीसँग जवाफ खोजेका हुन् ।
सांसद राईले लामो समयदेखि संसद्ले प्रधानमन्त्रीको जवाफ खोजिरहेको भन्दै प्रधानमन्त्री कहिले संसद्मा उपस्थित भएर जवाफ दिने हो भन्ने प्रश्न गरे ।
त्यसपछि उनले १० भदौमा रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीबारे सरकारको कामकारबाहीबारे जवाफ मागे । उक्त बाढीबाट रसुवा, नुवाकोट, धादिङदेखि चितवनसम्मका नदी तटीय क्षेत्रमा ठूलो क्षति भएको उनले बताए ।
त्यस्तै, पछिल्लो समय बाढीपहिरोका कारण भएको जनधनको क्षतिबारे पनि प्रधानमन्त्रीको जवाफ माग्दै उनले २१ जनाको मृत्यु भएको विषय उठाए ।
‘लामो समयदेखि प्रधानमन्त्रीको जवाफ खोजेर बसेका छौँ । सायदै चाँडै सरकार प्रमुख आएर हामीलाई उत्तर दिनुहुन्छ,’ उनले भने, ‘१० भदौको विनाशकारी बाढी मात्रै होइन, पछिल्लो समय बाढीका कारण २१ जनाको मृत्यु भएको छ ।’
चौथो विषयका रूपमा राईले राजनीतिक विश्लेषक तथा लेखक भरत दाहाल पक्राउ परेको प्रसंग उठाए । सरकारले केही दिनअघि दाहाललाई पक्राउ गरेको र त्यसपछि सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासले पक्राउको लिखित कारण पेस गर्न आदेश दिएको उनले बताए ।
पाँचौँ प्रश्नमा उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको विषय उठाए । जबरालाई शनिबार राति घरबाट नियन्त्रणमा लिइएको भए पनि कुन कसुर र कुन पुर्जीका आधारमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले स्पष्ट नगरेको उनले बताए ।
‘घरि भरत दाहाल पक्राउ, गर्यो छोड्यो । घरि चोलेन्द्रशमशेर पक्रियो, छोड्यो,’ राईले भने, ‘कम्तीमा विषय गम्भीर छ भने सिरियसली लाग्नुहोला । होइन भने सरकारले यो कुन हिसाबले काम गरिरहेको छ ?’
छैटौँ विषयमा उनले नागरिकमा बढ्दै गएको निराशा र आत्मदाहका घटनाबारे प्रधानमन्त्रीसँग जवाफ मागे ।
उनले काठमाडौंको त्रिपुरेश्वर क्षेत्रमा पछिल्लो समय सुरक्षाकर्मी तथा नियमनकारी निकायसँगको विवादपछि भएका आत्मदाहका घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरे । राहदानी विभाग अगाडि मोटरसाइकलमा ‘ह्विल लक’ लगाइएको विषयमा विवाद भएपछि एक युवकले आत्मदाह गरेको तथा त्रिपुरेश्वर चोकमा ट्राफिक प्रहरीसँगको विवादपछि एक चालकले आगो लगाएको घटनाबारे उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
यी घटनाले नागरिकमा निराशा बढ्दै गएको देखाउने भन्दै उनले सरकारले नागरिकको असन्तुष्टि र समस्यालाई कसरी सम्बोधन गरिरहेको छ भन्नेबारे प्रधानमन्त्रीको जवाफ मागे ।
सातौँ विषयमा राईले संसद्को भूमिका र गरिमाको प्रश्न उठाए । संसद्को गरिमा बढाउन सरकारले के योजना बनाएको छ भन्नेबारे प्रधानमन्त्रीसँग जवाफ माग्दै उनले समग्र घटनाका कारण ‘संसद्लाई समेत थुक्ने वातावरण’ बनेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
प्रकाशित मिति: सोमबार, असोज १२, २०८३