२५ माघ, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको विद्युत चुहावट अभियान सार्थक रूपमा अगाडि बढेको छ । हाल तीन प्रतिशतको हाराहारीमा चुहावट नियन्त्रण गर्न सफल भएको प्राधिकरणले जनाएको छ । मङ्सिर र पुसमा तीन प्रतिशत चुहावट नियन्त्रण गरिएको छ । गत साउनदेखि हालसम्म औसतमा दुई प्रतिशत विद्युत् चुहावट नियन्त्रण भएको र नियन्त्रण अभियानलाई निरन्तर अगाडि बढाएर चालु आवको अन्त्यसम्म ३.५ प्रतिशत विद्युत् चुहावट कम गर्ने लक्ष्य राखिएको छ । एक प्रतिशत मात्रै विद्युत् चुहावट नियन्त्रण गर्न सकिए रु ५० करोड बराबरको बचत प्राधिकरणलाई हुने घिसिङको भनाइ छ । प्राधिकरणले पछिल्लोपटक मात्रै २० हजार विद्युत् चोरीमा संलग्नलाई कारबाही गरेको छ । त्यसले पनि सकारात्मक सन्देश दिएको छ । हुकिङ गरेर विद्युत् चोरी गर्नेलाई कारबाही गर्ने प्रक्रिया तीव्र रूपमा अगाडि बढाइएको प्राधिकरणले जनाएको छ । हुकिङ नियन्त्रण अभियान अगाडि बढाएको प्राधिकरणले औद्योगिक करिडोरमा हुने प्राविधिक चुहावट नियन्त्रण अभियानलाई पनि सँगसँगै अगाडि बढाएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २४, २०७३