काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रम थापाले भदौ २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाएका जेनजी सहिदहरू इतिहासमा सधैं अमर रहने बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध लड्ने क्रममा ज्यान गुमाएका सहिदहरूको बलिदान युगौंसम्म जीवित रहने बताएका हुन्।
‘जन्म र मृत्युबीच कर्म छ, यो शाश्वत सत्य हो। तर, मातृभूमिको मुक्तिका लागि, परिवर्तनका लागि र असल कर्मका लागि प्राण अर्पण गर्ने नायक कहिल्यै मर्दैनन्, उनीहरूको बलिदान युगौंसम्म बाँचिरहन्छ,’ उनले भने।
सांसद थापाले सहिदका आमाहरूको पीडा आफूले देखेको भन्दै सन्तान गुमाउनुको दुःख असह्य हुने बताए।
‘महान् सहिद आमाहरू, तपाईंहरू नरुनुस् भन्न त म सक्दिनँ, किनकि सन्तान गुमाउनुको पीडा असह्य हुन्छ। म यति मात्र भन्न चाहन्छु– तपाईंका छोरा नायक राष्ट्रको इतिहासमा अमर रहनेछन्,’ उनले भने।
सहिदका आमाहरूले आफ्ना सन्तान मात्र नभई राष्ट्रका लागि वीर सपूत जन्माएको भन्दै उनले उनीहरूको योगदानप्रति मातृभूमिले गर्व गर्ने बताए।
‘जसले आफ्नो छोरा मात्र होइन, राष्ट्रका लागि एउटा वीर सपूत जन्माउनुभयो। मातृभूमि गर्व गर्छ। आउँदो पुस्ताले इतिहासका पाना पल्टाउँदा हाम्रा दाजुभाइले रगत दिए, तर तिमीहरूले परिवर्तन गर्न सकेनौ भनेर हामीलाई धिक्कार्न नपरोस्,’ उनले भने।