काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले सहिद परिवारलाई न्यायको प्रत्यक्ष आभास हुने गरी काम गर्न सरकारलाई आग्रह गरेकी छन्।
मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै जेनजी सहिद रसिक खतिवडाकी आमा सांसद खतिवडाले सहिदको रगत अझै नसुकेको स्मरण गर्दै न्यायको प्रत्यक्ष आभास हुने गरी सरकारलाई काम गर्न आग्रह गरेकी हुन्।
उनले आन्दोलनका क्रममा थुनामा रहेका सम्पूर्ण जेनजी थुनुवालाई विनासर्त तत्काल रिहा गर्न माग गरिन्। घाइतेहरूको उपचारका लागि संसारको जुनसुकै कुनामा लैजानुपरे पनि राज्यले सम्पूर्ण खर्च व्यहोरेर निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने उनको माग छ।
संसद्मा उभिनु आफ्नो कुनै व्यक्तिगत राजनीतिक रहर, महत्त्वाकाङ्क्षा वा पदको लालच नभएको बताउँदै उनले जेनजी आन्दोलनका सहिदहरूले पूर्ण रूपमा न्याय पाए सांसद पदबाट राजीनामा दिन एक सेकेन्ड पनि नहिच्किचाउने बताइन्।
उनले आफूलाई ‘छोराको लासमाथि सांसद पद साटेको’ भन्दै निकृष्ट र अपमानजनक टिप्पणी गर्ने गरिएको बताइन्। एउटी आमाको छातीको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न आग्रह गर्दै उनले तुच्छ शब्द बोल्नुअघि हजार पटक सोच्नसमेत आग्रह गरिन्।
प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३