प्यूठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा बिहीबार चार जनाको शव फेला परेको छ। माडी र लुङ्ग्री खोलाको किनारमा फेला परेका शवमध्ये अधिकांशको अवस्था क्षतविक्षत रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोलाको किनारमा करिब १२/१३ वर्षीय बालकको शव फेला परेको छ।
त्यस्तै, स्वर्गद्वारी–३ किमिचौरस्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिको भाग मात्र रहेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
स्वर्गद्वारी–४ गोठीबाङमा एक महिलाको शव फेला परेको छ। यस्तै, स्वर्गद्वारी–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा टाउको र बायाँ खुट्टा नभएको अवस्थामा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।
स्थानीयले शव फेला परेको जानकारी गराएपछि इलाका प्रहरी कार्यालय भिङ्ग्रीबाट प्रहरी नायब निरीक्षक हस्ते घर्तीमगरको कमान्डमा सात जना, प्रहरी चौकी लामाचौरबाट प्रहरी सहायक निरीक्षक शिवलाल पौडेलको कमान्डमा चार जना तथा इलाका प्रहरी कार्यालय बिजुवारबाट प्रहरी निरीक्षक महेश्वरी विष्टको कमान्डमा १० जनासहितको प्रहरी टोली घटनास्थलमा खटिएको जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। फेला परेका शवहरूको पहिचान तथा मृत्युको कारण भने खुल्न बाँकी रहेको छ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३