काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्रबहादुर शाहीले सरकारले १३ मुलुकका लागि राजदूत सिफारिस गर्दा आफैंले तय गरेको मापदण्ड पालना नगरेको भन्दै आपत्ति जनाएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले सरकारले राजदूत नियुक्तिका लागि मापदण्ड बनाए पनि त्यसविपरीत राजदूत सिफारिस गरेको आरोप लगाए । सिफारिस गरिएका अधिकांश व्यक्ति अन्तर्राष्ट्रिय संस्थासँग जोडिएको पृष्ठभूमिका रहेको भन्दै उनले सरकारसँग प्रश्न गरे ।
‘सरकारले आफैंले बनाएको मापदण्ड किन लागू गर्न सकेन ? यसलाई सुशासन भनिँदैन, यो कुशासन हो,’ उनले भने, ‘यस्तो के आपत्ति आइलाग्यो ? यो दुईवटा कारणले आउन सक्छ– विदेशी दबाब कि अर्बौंको चलखेल । यसको जवाफ चाहिन्छ ।’
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ मुलुकका लागि राजदूत सिफारिस गरेको थियो ।
सरकारले चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशम्शेर जबरालाई सिफारिस गरेको छ ।
त्यस्तै, जापानका लागि जिग्यानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि सरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई सिफारिस गरिएको छ ।