अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रास्वपाले आयोजना गरेको कार्यक्रममा बोल्दै लामिछानेले अहिले युवा नेतृत्वको सरकार, राजनीतिक दल र संसद् रहेको बताए।
उनले युवाहरूका लागि प्राप्त भएको अवसरलाई परिणाममा बदल्न नसके भविष्यमा युवाले नेतृत्व गर्ने अवसर नै गुम्न सक्ने चेतावनी दिए।
लामिछानेले भने, ‘युवा भनेर पनि नहुने भन्ने भाष्य बन्न सक्ने अवस्था आउन सक्छ। अहिले यो अवसर गुमे भोलिका दिनमा युवाहरूले अवसर प्राप्त नगर्न सक्छन्।’
उनले रास्वपाका लागि परिणाममुखी काम गरेर देखाउनु चुनौतीपूर्ण रहेको बताए। पार्टी नयाँ र ऊर्जावान भए पनि कामबाट क्षमता प्रमाणित गर्नुपर्ने उनको भनाइ छ।
लामिछानेले भने, ‘फ्रेस छौं, तगडा हुन बाँकी छ। काम गरेर देखाउनुपर्ने चुनौती छ।’
रास्वपाबाट सरकारमा सहभागी मन्त्री तथा सांसदहरूलाई पदमा रमाउने समय नभएको उनले बताए। प्राप्त जिम्मेवारीलाई उपलब्धिमा परिणत गर्नुपर्नेमा उनले जोड दिए।
जेनजी आन्दोलनले उठाएका विषयहरू स्पष्ट रूपमा देखिएको उल्लेख गर्दै लामिछानेले आन्दोलनले उठाएका मुद्दालाई सम्बोधन गर्दै अब त्यसबाट के निर्माण गरियो भन्ने कुरा देखाउने चुनौती रहेको बताए।