२२ माघ, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले आइतबारदेखि नियमित समयमा हुने ‘अड लट’ कारोबारले बजारको मूल्य सीमा तथा परिसूचकमा असर नगर्ने व्यवस्था मिलाउने भएको छ । नेप्सेका अनुसार दोस्रो बजार कारोबार थप सहज बनाउन नियमित कारोबार समयमै १० कित्ता भन्दा कम(अड लट) धितोपत्र किनबेच हुनसक्ने व्यवस्था गर्ने भएको हो ।
यसअघि नियमित कारोबार समय (आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म) ‘अल अर नन’(एओएन) बाहेकका अन्य अर्डरमा १० र १० ले गुणा जाने सङ्ख्याका धितोपत्र कारोबार हुँदै आएको थियो । यसरी अन्य किसिमका मागमा १० ले गुणा जाने कित्ता नभएको अवस्थामा माग खारेज हुने समस्या थियो । नेप्सेले गरेको नयाँ व्यवस्थापछि उक्त समस्याको निराकरण भई लगानीकर्ता थप लाभान्वित हुने विश्वास गरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७३