काठमाडौं । मन्त्रिपरिषद् बैठकले १३ देशका लागि नेपाली राजदूत सिफारिस गर्ने भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज असोज २ गते दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठकले राजनीतिक कोटाअन्तर्गत विभिन्न १३ देशका लागि राजदूतको नाम सिफारिस गर्ने तयारी गरेको हो।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अमेरिका, चीन, भारत, अस्ट्रेलिया, बेलायत, इजरायल, दक्षिण कोरिया, अस्ट्रियालगायत १३ देशका लागि राजदूत सिफारिस गरिनेछ।
स्रोतले भन्यो, “अर्को दुई–तीन घण्टामा कुनै व्यवधान नआए आज मन्त्रिपरिषद्को बैठकले राजनीतिक कोटाअन्तर्गत विभिन्न देशमा राजदूत नियुक्तिका लागि १३ जनाको नाम सिफारिस गर्नेछ। परराष्ट्रमन्त्रीज्यूले प्रस्ताव लैजाँदै हुनुहुन्छ।”
स्रोतका अनुसार दोस्रो चरणमा करियर डिप्लोम्याट अर्थात् परराष्ट्र मन्त्रालयका सहसचिवमध्येबाट राजदूत सिफारिस गर्ने तयारी छ।
परराष्ट्र मन्त्रालयले गत जेठ १४ गते अमेरिका, चीन, भारत, अस्ट्रेलिया, बेलायत, साउदी अरेबिया, बंगलादेश, इजरायल, ओमान, दक्षिण कोरिया, मलेसिया, बहराइन र अस्ट्रियाका लागि राजदूत नियुक्त गर्न खुला आवेदन मागेको थियो।
आवेदन दिने अन्तिम मिति जेठ २२ गते बेलुकी ५ बजेसम्म तोकिएको थियो। सो अवधिमा २ हजार ७०० जनाबाट झन्डै ४ हजार आवेदन परेको थियो।