काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको हितका लागि आफू लचकता अपनाएर अघि बढ्न तयार रहेको बताएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा सभापति थापाले पार्टीभित्र कसले जित्यो वा कसले आफ्नो अडान छाड्यो भन्ने रूपमा नभई बृहत्तर हितका लागि लचकता अपनाउन आफू तयार रहेको बताएका हुन्।
उनले सबै तह र वर्गका व्यक्ति तथा व्यक्तित्वलाई समेटेर पार्टीलाई एकताबद्ध बनाएर राख्नुपर्नेमा जोड दिए।
सभापति थापाले पार्टीभित्रका सबै असहमति र असन्तुष्टि सम्बोधन भइसकेको उल्लेख गर्दै अब पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने धारणा राखे। उनले आन्तरिक मतभेदलाई थाती राखेर बृहत्तर हितका लागि लचकता अपनाउन निवर्तमान सभापति शेरबहादुर देउवा पक्षसहित सबै नेताहरूलाई आग्रह गरे।
पूर्वसभापतिको हैसियतमा देउवाले महाधिवेशन उद्घाटन गर्दा पार्टीका लागि ठूलो सम्मान हुने थापाको भनाइ थियो। पार्टीलाई एकताबद्ध बनाउन रिसाएर कांग्रेस छाडेकाहरूलाई समेत पुनः जोड्न आवश्यक रहेको उनले बताए।
तोकिएको समयमै महाधिवेशन गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै थापाले महाधिवेशन सम्पन्न गरेर जनतामाझ जाने धारणा व्यक्त गरे।
प्रकाशित मिति: बिहीबार, असोज १, २०८३