काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षका ५२ नेता नौ महिनापछि पार्टी केन्द्रीय कार्यालय सानेपा फर्किने भएका छन् । संस्थापन पक्षसँगको असमझदारी अन्त्य गर्दै उनीहरू बिहीबार बस्ने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन लागेका हुन् ।
बिहीबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा असन्तुष्ट पक्षका ५२ नेता सहभागी हुने चुनदेवी कांग्रेसका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिए ।
‘हामी मूल घरबाट रिसाएर भाडाको घरमा बसेका थियौँ, मूल घरले फकायो, घर फर्कियौँ,’ विश्वकर्माले भने ।
विश्वकर्माका अनुसार पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि सभापति थापालाई नैतिक समर्थन जनाइसकेका छन् । तर, सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले खड्का तत्काल भौतिक रूपमा पार्टी कार्यालयमा उपस्थित नहुने उनले बताए ।
‘पूर्ण दाइको नैतिक समर्थन छ । भौतिक रूपमा उहाँले उपस्थिति जनाउन सर्वोच्चको मुद्दाले दिँदैन । त्यसैले अहिले नै उहाँ सानेपा आउनुहुन्न,’ विश्वकर्माले भने ।
कांग्रेसले बिहीबारको बैठकमा निवर्तमान कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यलाई पत्र पठाएर सहभागी हुन निमन्त्रणा गरेको छ ।
नौ महिनापछि असन्तुष्ट पक्षका नेताहरू पार्टीको औपचारिक बैठकमा फर्किनुलाई कांग्रेसभित्र लामो समयदेखि जारी असमझदारी कम हुँदै गएको संकेतका रूपमा हेरिएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज १, २०८३