काठमाडौं । थाइल्यान्डबाट १८ किलो गाँजा बोकेर नेपाल आएका दुई भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार रहेका छन्। उनीहरूलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरू क्याथे प्यासिफिकको उडानमार्फत बैंककबाट हङकङ हुँदै काठमाडौं आएका थिए।
पक्राउबाट जोगिन उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रमा लगेज छाड्ने र केही दिनपछि नेपाली एजेन्टमार्फत उक्त लगेज रिसिभ गर्ने योजना बनाएको खुलेको छ।
लागुऔषध नियन्त्रण ब्युरोका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार उनीहरूको गतिविधिमाथि निगरानी राख्दै आएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: बुधबार, साउन २७, २०८३