काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिका–१० आदर्शनगरबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ नगदसहित चार जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार सोमबार साँझ आदर्शनगरमा प्रदेश २–०३–००३ प ७२१५ र ना.५७ प ५१८२ नम्बरका मोटरसाइकल रोकेर खानतलासी गर्ने क्रममा मोटरसाइकलमा सवार चार जनाको साथबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ बरामद भएको हो।
पक्राउ पर्नेमा भारत बिहारको सीतामढी जिल्ला, डुमरा थाना–६ का २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह, सोही स्थानका २६ वर्षीय सागरकुमार सर्राफ र पर्साको विन्दवासिनी गाउँपालिका–१ झौवागुठीका २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन्।
बरामद नगदसहित चारै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।
यसैबीच, सोमबार राति पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ सोनबर्साबाट १०५ किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। भारत बिहारका ५० वर्षीय सउरु चौधरीलाई उक्त परिमाणको गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।