धनगढी । सुदूरपश्चिम प्रदेश सरकार र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयबीच प्रदेशका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने समझदारी भएको छ । यसका लागि दुवै पक्षबीच २० वर्षको सम्झौता भएको हो ।
सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र विश्वविद्यालयबीच शिक्षण अस्पतालका रूपमा अस्पताल प्रयोग गर्ने सम्बन्धमा समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको हो ।
समझदारीअनुसार सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र लम्कीचुहा प्रादेशिक अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा प्रयोग गरिनेछ ।
सम्झौताले स्वास्थ्य विज्ञानसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन, क्लिनिकल अध्ययन तथा अध्यापन, अनुसन्धान र स्वास्थ्य सेवा सुदृढीकरणका लागि प्रदेशमा उपलब्ध जनशक्ति, पूर्वाधार तथा स्रोतसाधनको प्रभावकारी उपयोग गर्ने लक्ष्य राखेको छ ।
विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त एमबीबीएसलगायत स्नातक, स्नातकोत्तर, डीएम/एमसीएच तथा पीएचडी तहका स्वास्थ्य विज्ञानसम्बन्धी कार्यक्रम सञ्चालनमा सहकार्य गर्नेछ । अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गुणस्तरीय क्लिनिकल शिक्षा प्रदान गर्नुका साथै उनीहरूको शैक्षिक तथा व्यावसायिक क्षमता अभिवृद्धिमा समेत सहकार्य गरिनेछ ।
समझदारीमा अनुसन्धान तथा नवप्रवर्तन प्रवर्द्धन, स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने विषयसमेत समेटिएको छ ।
सम्झौताअनुसार अस्पतालमा कार्यरत योग्य विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विश्वविद्यालयको प्रचलित नियमअनुसार शिक्षकको पदनाम दिन सकिनेछ । शैक्षिक तथा प्रयोगात्मक कार्यक्रममा संलग्न शिक्षकलाई पारिश्रमिक तथा भत्ता उपलब्ध गराउने, फ्याकल्टी डेभलपमेन्ट कार्यक्रम सञ्चालन गर्ने र विद्यार्थीको शैक्षिक गतिविधिको सुपरिवेक्षण तथा अनुगमन गर्ने जिम्मेवारी विश्वविद्यालयको हुनेछ ।
अस्पतालमा अध्ययन–अध्यापनका लागि आवश्यक भौतिक पूर्वाधार, शैक्षिक सामग्री, प्रयोगशाला, उपकरण, पुस्तकालय तथा सूचना प्रविधिमैत्री शैक्षिक वातावरण विकासमा आवश्यक सहयोग गर्ने व्यवस्था पनि गरिएको छ ।
समझदारीपत्रमा प्रदेश सरकारका निमित्त प्रदेश सचिव डा. नीरज अर्याल र विश्वविद्यालयका रजिष्ट्रार डा. भीमबहादुर चन्दले हस्ताक्षर गरेका थिए । कार्यक्रममा विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार, सामाजिक विकास मन्त्रालयका अधिकारी तथा चारवटै अस्पतालका अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्टलगायतको उपस्थिति थियो ।
सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापाले समझदारीले सुदूरपश्चिममा चिकित्सा शिक्षा विस्तारसँगै प्रदेशमै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन, स्वास्थ्य सेवाको गुणस्तर सुधार र अनुसन्धानमुखी स्वास्थ्य प्रणाली विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताइन् । प्रदेशमा सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।