काठमाडौं । काठमाडौं विश्वविद्यालयको चिकित्सा विज्ञान अध्ययन संस्थानको डिनमा प्रा.डा. दीपक कुँवर नियुक्त भएका छन्।
विश्वविद्यालय कार्यकारी परिषद्को हालै सम्पन्न बैठकले कुँवरलाई डिनमा नियुक्त गर्ने निर्णय गरेको हो। चिकित्सा शिक्षा तथा प्राज्ञिक क्षेत्रमा लामो समयदेखि सक्रिय कुँवरले काठमाडौं विश्वविद्यालय तथा चिकित्सा विज्ञान अध्ययन संस्थानमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।
कुँवर यसअघि चिकित्सा विज्ञान अध्ययन संस्थानको सहायक डिनका रूपमा कार्यरत थिए। उनले संस्थानको प्राध्यापक परिषद्को संस्थापक सचिव तथा निवर्तमान अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
यसअघि प्रा.डा. मनोज हुमागाईंले सम्हाल्दै आएको डिनको जिम्मेवारी अब कुँवरको काँधमा आएको हो।
नवनियुक्त डिन कुँवरले चिकित्सा शिक्षाको गुणस्तर कायम गर्न अध्यापनसँगै अनुसन्धान र व्यवहारिक अभ्यासलाई समान रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्। विद्यार्थीले प्राप्त गर्ने सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्ने वातावरण निर्माण, आधुनिक चिकित्सा प्रविधिलाई शिक्षण प्रणालीसँग जोड्ने तथा अनुसन्धानका नयाँ क्षेत्र पहिचान गर्ने विषयलाई संस्थानका प्राथमिकतामा राखिने उनले बताए।
त्यस्तै, विश्वविद्यालयअन्तर्गतका शिक्षण अस्पताल तथा स्वास्थ्य संस्थासँगको समन्वयलाई प्रभावकारी बनाउँदै विद्यार्थीलाई पर्याप्त प्रयोगात्मक अभ्यासको अवसर उपलब्ध गराउने विषयमा पनि जोड दिइनेछ।
कुँवरको लामो शैक्षिक अनुभव तथा संस्थाभित्र विभिन्न जिम्मेवारीमा रहेर हासिल गरेको प्रशासनिक र नेतृत्व अनुभव नयाँ जिम्मेवारीका लागि महत्वपूर्ण आधारका रूपमा रहेको बताइएको छ।
काठमाडौं विश्वविद्यालयको चिकित्सा विज्ञान अध्ययन संस्थानले चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाका लागि आवश्यक जनशक्ति उत्पादन गर्दै आएको छ। नयाँ नेतृत्वले संस्थानको शैक्षिक तथा प्राज्ञिक क्षमता विस्तार गर्दै चिकित्सा शिक्षालाई थप गुणस्तरीय, अनुसन्धानमुखी र व्यवहारिक बनाउने अपेक्षा गरिएको छ।