दाङ । दाङको तुलसीपुरस्थित हेमन्तपुर-टरिगाउँ सडकखण्डमा कालोपत्र गरेको ६ महिना नपुग्दै उप्किएको छ । कालोपत्र उप्किएपछि पूर्वाधार विकास कार्यालय दाङले सम्बन्धित निर्माण कम्पनीलाई सडक मर्मतका लागि पत्रसमेत पठाइसकेको जनाएको छ ।
केही ठाउँमा कालोपत्र उप्किएको छ, उप्किएको ठाउँमा हामीले मर्मतका लागि पत्र पठाएका छौँ , कार्यालय प्रमुख वासुदेव भण्डारीले भने, जाडो मौसममा कालोपत्र गर्दा त्यो दिगो हुँदैन, पुनः उप्किहाल्छ, त्यसैले जाडो मौसम सकिएसँगै उनीहरुले काम सुरु गर्छन् ।
उक्त सडकखण्डको साइपुर–जहदागाउँ खण्डमा यस्तो समस्या देखिएको छ । गएको आवको अन्तिमतिर उक्त सडकको कालोपत्र निर्माणको काम पूरा भएको हो । तर छ महिना नपुग्दै विभिन्न स्थानमा उप्किएको तथा चर्किएको छ ।
प्रदेश नं ५ सरकारको करिब २ करोड २० लाख लागतमा उक्त सडकखण्डमा कालोपत्र गरिएको हो । हेमन्तपुर-मानपुर–टरिगाउँ सडकखण्डलाई तीन भागमा विभाजन गरेर कालोपत्र गरिएको थियो । फरक-फरक तीन निर्माण कम्पनीले उक्त सडकखण्डमा कालोपत्र गरेका थिए ।
तीमध्ये झरना निर्माण सेवाले कालोपत्र गरेको स्थानमा त्यस्तो समस्या देखिएको प्रमुख भण्डारीले बताए। उनका अनुसार सोही निर्माण कम्पनीलाई उप्केको तथा चर्किएको स्थानमा पुनः कालोपत्र गर्न पत्र गरिएको छ ।
कुनै पनि निर्माण कम्पनीले निर्माण पूरा गरेको एक वर्षसम्म बिग्रिएको, भत्किएको अवस्थामा पुनः मर्मत गर्नुपर्ने भन्दै सोहीअनुसार उक्त कम्पनीलाई मर्मतका लागि पत्र पठाइसकेको उनको भनाइ थियो । कुनै पनि निर्माण कम्पनीले निर्माण पूरा गरेको एक वर्षभित्र बिग्रियो, भत्कियो भने पुनःनिर्माण गरिदिनुपर्छ , उनले भने, अन्यथा उनीहरुको धरौटी जफत हुन्छ ।
यो नियतवशभन्दा पनि प्राविधिक त्रुटि भएको भन्दै यसलाई निर्माण कम्पनीले तुरुन्त ममर्त गर्नुपर्ने इन्जिनियर चन्द्र शाहले बताए। यो धेरै ठूलो कम्जोरी होइन, सबै ठाउँमा शतप्रतिशत राम्रो हुन्छ भन्ने छैन , उनले भने, केही समस्या पक्कै भएको छ, यसमा निर्माण व्यवसायीले गल्ती स्वीकार गरेर पुनः मर्मत गर्नुपर्छ ।
उक्त सडकको छेउतिर बढी ‘फिलिङ’ भएकाले पनि चर्किएको हुनसक्ने उनको भनाइ छ । उक्त सडकमा कालोपत्र गर्दा फिलिङ थियो , उनले भने, फिलिङ बढी भए पनि यसरी कालोपत्र चर्किने, उत्रिने हुन्छ, यो जानाजान गरिएको गल्ती हो जस्तो लाग्दैन ।
अर्कोतर्फ उक्त सडकमा १८÷२० टनका सवारी हिँड्नसक्ने क्षमता भएको भए पनि ४०-५० टन क्षमता भएका टिपर चल्दा यस्तो समस्या भएको हुनसक्ने उनले बताए। त्यस्तै पर्खाल नहुँदा पनि यसरी कालोपत्र उप्किएर जाने गरेको उनको भनाइ छ ।
सोही सडकमा छ मिटर कालोपत्र गरिएको थियो । कालोपत्रको जिम्मा डेरी निर्माण सेवा, झरना निर्माण सेवा र चाँदनी निर्माण सेवाले लिएका थिए । अहिले सडकको कालोपत्र उत्रिएको कल्भर्ट तथा नाला भएको स्थानमा सम्बन्धित निर्माण कम्पनीले ग्राभेल हालेर टालटुल पारेका छन् ।
यसअघि पनि झरना निर्माण सेवाले जिम्मा लिएको तुलसीपुरको दुधरास-सक्राम-छिल्लीकोट सडकखण्डमा ग्राभेलको सट्टा हिलो माटो हालेपछि स्थानीयवासीले व्यापक विरोध गरेका थिए ।
अन्योलमा प्रदेशस्तरीय कार्यालय
अहिले प्रदेश नं ५ ले छुट्याएका योजना कुन कार्यालयले हेर्ने भन्ने पनि अन्योल छ । केही योजना प्यूठानस्थित प्रदेश सडक डिभिजन कार्यालयले हेर्दै आएको छ भने केही योजना पूर्वाधार विकास कार्यालय दाङले हेर्दै आएको छ ।
प्रदेशले हामीलाई जुन योजना हेर्न भनी जिम्मा दिन्छ, ती योजना हेर्दै आएका छौँ , इन्जिनियर शाहले भने, केही प्यूठानले हेर्दै आएको छ, केही दाङले हेर्दै आएको छ । यसले दाङका प्रदेशस्तरीय अन्य सडक निर्माणको समेत प्रभावकारी निगरानी हुनसकेको छैन ।
प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६