विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नयाँ कोरोना भाइरसविरुद्ध चीनले चालेका कदमले सङ्क्रमणलाई विश्वव्यापी संकट बन्न नदिन बाँकी विश्वलाई अवसर दिएको जनाएको छ ।
डब्ल्यूएचओका महानिर्देशकले चीनको कदम उपयुक्त भएको टिप्पणी गरे । प्रकोपलाई सुरुकै अवस्थामा रोक्न नसकेको भन्दै चिनियाँ अधिकारीहरूको आलोचना भइरहँदा डब्ल्यूएचओको त्यस्तो प्रशंसा आएको हो ।
जेनेभामा बोल्दै डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले चीनले प्रकोप सुरु भएको ठाउँमा गरिरहेको कामलाई त्यसलाई थप फैलिन नदिने र नियन्त्रण गर्ने अवसरका रूपमा हेर्नुपर्ने बताए ।
चीनको शीर्षस्थ नेतृत्वले घातक कोरोनाभाइरसको प्रकोपसँग जुझ्ने क्रममा सरकारी कमजोरी र अपूर्णता पाइएको स्वीकारेको एक दिनपछि राष्ट्रसंघीय स्वास्थ्य निकायको त्यस्तो भनाइ आएको हो । चीन सरकारले सुरुमा यस भाइरसको संवेदनशीलतालाई कम आँकलन गरेको र त्यसकै कारण यसको समाचार लुकाउन खोजेको आरोप समेत झेलेको थियो ।
जेनेभास्थित राष्ट्रसंघका लागि चिनियाँ राजदूत चेन छुले भने कतिपय प्रतिबन्धहरू डब्ल्यूएचओको सुझावविपरीत रहेको भन्दै यस प्रकोपबारे देशहरूले उग्र प्रतिक्रिया जनाउन आवश्यक नरहेको बताएका छन् । प्रतिबन्धको समीक्षा आवश्यक महानिर्देशक टेड्रोसले चीनमा यात्रा र व्यापार प्रतिबन्धहरू नलगाउन विभिन्न देशहरूलाई आग्रह गरे ।
अहिलेसम्म २२ देशहरूले त्यस्तो निर्णय गरेकोमा टेड्रोसले ती छोटो समयका लागि र निरन्तरको समीक्षाबीच आवश्यकताका आधारमा हुनुपर्ने बताए । अहिलेसम्म यस भाइरसको सङ्क्रमणबाट ४ सय ९२ जना मानिसहरूको मृत्यु भइसकेको छ भने विश्वभरि २४ हजारभन्दा धेरै मानिसमा यसको सङ्क्रमण फेला परेको पुष्टि भएको छ।
डब्ल्यूएचओले यस प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल भने पनि त्यो महामारीको अवस्थामा नपुगेको जनाएको छ । यो नयाँ भाइरसबारे ज्यानुअरी ३० तारिखमा विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरिएको थियो ।
पछिल्लो अवस्था मुख्यभूमि चीनबाहिर अहिलेसम्म हङ्कङ र फिलिपिन्समा समेत १-१ जनाले ज्यान गुमाएका छन् । अमेरिकाले आफ्ना अत्यावश्यक बाहेकका सबै नागरिक र उनीहरूका परिवारका सदस्यलाई सबैभन्दा पहिले भाइरस देखापरेको चीनको वुहान सहरबाट फर्किन निर्देशन दिएको छ ।
ब्रिटेन र फ्रान्सले समेत आफ्ना नागरिकहरूलाई सकेसम्म चीन छाड्न भनेको छ । ताइवानले शुक्रबारबाट मुख्यभूमि चीनको पछिल्लो २ सातामा भ्रमण गरेका विदेशीको आगमनमा रोक लगाउने बताएको छ । मकाउले समेत आफ्नो अर्थतन्त्रको मुख्य स्रोत क्यासिनोहरू अस्थायी रूपमा बन्द गरेको जनाएको छ ।
थुप्रै देशले वुहानबाट आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेका छन् र सुरुका केही दिन उनीहरूलाई क्वारेन्टाइनमा राखेर निगरानी गरेका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार मृत्यु हुनेमध्ये झन्डै ८० प्रतिशत ६० वर्ष भन्दा माथिका छन् । ७५ प्रतिशतमा पहिल्यै मुटुरोग र मधुमेहजस्ता समस्या थिए । बिबिसी
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६