काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्रको गगन थापा समूहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहकार्य गरेको आरोप लगाएका छन्।
सिन्धु–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित युवा भेलालाई सम्बोधन गर्दै बस्नेतले विगतको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ मा गगन थापाले रास्वपाको सहयोगमा विजय हासिल गरेको दाबी गरे।
उनले भने, “नाटक गरेर रास्वपासँग सहकार्य गर्दै थापाजीले काठमाडौं–४ मा जित हासिल गर्नुभएको हो। चितवनमा पनि रास्वपालाई सहयोग गर्ने काम कांग्रेसले नै गरेको हो। यसलाई नकार्ने कोही छैन।”
बस्नेतले अहिले पनि सोही प्रवृत्ति दोहोर्याउने प्रयास भइरहेको आरोप लगाए। “यसरी ढाँटेर र छलछाम गरेर राजनीति अगाडि बढाउने प्रयास भइरहेको छ,” उनले भने।
उनले कांग्रेसलाई पुनः इमानदार र सक्षम बनाउने प्रतिबद्धता व्यक्त गर्दै आफूहरू पार्टी सुधारको अभियानमा लागेको बताए। “हामी मुलुक र जनताको हितका लागि इमानदार कांग्रेस बनाउने अभियानमा छौँ। केही समयका लागि लोकप्रिय देखिन बकवास गर्ने कांग्रेस होइन, लोकतन्त्र र जनताको पक्षमा सधैं लड्ने कांग्रेस बनाउने हाम्रो लक्ष्य हो,” उनले उल्लेख गरे।
प्रकाशित मिति: सोमबार, साउन २५, २०८३