सोलुखुम्बू : सोलुखुम्बूको दूधकुण्ड नगरपालिका– ९ लाप्चा गाउँमा करिब ३५० घरपरिवार छन् । तामाङहरूको बाहुल्य रहेको उक्त गाउँमा हालसम्म कुनै मनमुटाव, झगडा भएको छैन । त्यसैले लाप्चा गाउँलाई ‘मेलमिलापको गाउँ’ भनेर जिल्लामा चिन्छन् ।
जनचेतना आधारभूत विद्यालयका प्रधानाध्यपक चन्द्रबहादुर तामाङका अनुसार तत्कालीन द्वन्द्वको समयमा कोही पनि यस गाउँबाट माओवादीमा हिँडेका थिएनन् । साथै समय समयमा गाउँमा आउने सेना र माओवादी दुवैतर्फबाट गाउँका कसैलाई दुःख पनि दिएनन् ।
गाउँमा तामाङ संस्कारअनुसार सबै प्रकारका भोज तथा कार्यहरू हुन्छन् । तामाङ संस्कारमा धेरै मद्यपानको प्रयोग पनि हुन्छ । मद्यपानकै कारण झगडा हुन्छ भन्ने मान्यतालाई समेत यस गाउँले गलत बनाइदिएको गोराखानी पूर्व गाविस सचिवसमेत रहेका स्थानीय देण्डी तामाङ बताउँछन् ।
घरघरमा रक्सी बन्छ । रक्सी खाने पनि छन् तर लाप्चा गाउँमा महिले पनि मुद्दा मामिलाको काम नभएको प्रधानाध्यापक तामाङले बताए ।
मनमुटाव तथा मुद्दा मामिलाको काम गरेमा देवताले सहँदैनन् भन्ने मान्यता रहेको हुँदा त्यहाँ अहिलेसम्म कहिले पनि मुद्दा मामिला नभएको स्थानीयहरू बताउँछन् । त्यहाँ पुग्ने जोकोही पनि चकित पर्ने गरेका छन् । गाउँमा छिमेकी, आफन्त, नातागोता र चिनजानका भए पनि कसैका लागि कोही दुष्ट नभएकाले पनि अहिलेसम्म झगडा नभएको स्थानीयहरू बताउँछन् ।
गाउँ विकटमा रहे पनि यहाँ बाक्लो बस्ती रहेको छ । सबैले खेती गरेर बस्छन् । अर्मपर्म चल्छ, सरसापटीलगायत सबै सहयोगी भावनाले मिलेर बसेका छन् । उनीहरूको मिलनले गर्दा नै मेलमिलापको गाउँ भनेर चिनिएको हो । स्थानीयहरूका अनुसार मेलमिलापको कारण सबैसँग जन्मदेखि मृत्यु संस्कारसम्म निम्ता चल्छ, भोजभतेर, संस्कृतिक कामहरूमा रमाइलो गर्ने काम हुन्छ । तर कोहीले कसैमाथि पनि नराम्रो व्यवहार गर्ने चलन छैन । यस्तो व्यवहार गर्नुहुँदैन भन्ने मान्यताले गर्दा पनि मेलमिलापको गाउँको उदाहरण दिएको जनचेतना आधारभूत विद्यालयका प्रधानाध्यपक तामाङले बताए ।
उक्त गाउँमा मुख्य बालीको रूपमा आलु उत्पादन हुन्छ । उक्त आलुका लागि प्रयोग गरिने मल पनि अहिलेसम्म रयायनिक प्रयोग नभएको स्थानीयहरू बताउँछन् । उनीहरूको मुख्य पेसा कृषि भएकाले बस्तुभाउ पालेर बसेका छन् । त्यही बस्तुको मलबाट आलु उत्पादन गरिँदै आएको पूर्व गाविस सचिव देण्डी तामाङले बताए । त्यहाँ उत्पादन हुने आलु सोलु र ओखलढुङ्गासम्म लगेर बिक्री गर्ने गर्छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख २४, २०७६