१. सायद त्यसलाई भट्टी भने पनि हुन्छ तर पसल्नी नानी ‘त्यसो नभन्ने हो कि’ भनेर हाँस्छिन् । उनी रक्सी, जाँड र मासु बेच्छिन् । माछा पनि पाकेकै हुन्छ उनको भान्सामा । सके बाँकी रहँदैन बेलुकासम्ममा तर बाँकी रहेमा घरका सबै मिलेर खाने गरिँदोरहेछ । सबै भनेका घर परिवारका सदस्यहरू भनेर बुझ्नुपर्ने हुन्छ ।
रक्सी आफ्नै घरमा नबनाउने भएर होला उनले आफ्नो होटेललाई भट्टी भन्न मन नपराएको । जाँड नि ? भन्छिन्, ‘त्यो त बनाउँछु र चखाउँछु पनि ।’ डबकामा बेच्ने बानी नै छैन रे उनको, बोतलमा राखेर स्टिलका कप वा काँचका गिलासमा ख्वाउने बानी छ । भन्छिन्, ‘यहीँ एउटा झार छ, त्यसैले मात लगाउने काम गर्छ, भातलाई बिग्रन पनि दिँदैन ।’
‘त्यसको नाम नि ?’
‘अहँ, भन्न मिल्दैन’ भन्दै खितितिती हाँस्छिन् । भनेपछि ओखती लाग्दैन रे !
२. पैसा त राम्रै कमाइ हुन्छ जाँडबाट । रक्सीबाट । बाटो हिँड्दै गरेका बूढाबूढीसमेत ‘यसो घुट्क्याऊँ न’ भन्दै पस्छन् । खासगरी बुढाहरू । कमै बूढीहरू पस्छन् जाँड वा रक्सी खान । कस्तो सभ्यता आयो भने गाउँ पस्दा नै घुट्क्याउने बानी परेको छ । गाउँको पल्लो छेउमा खुलेको होटेलले ड्राइभर, खलाँसी र बटुवालाई त्राण भएको छ । अचम्भ छ, पसल्नी नानीचाहिँ आफू रक्सी, जाँड केही पनि खान्नन् । भन्छिन्, ‘बेच्न पनि घीन लाग्छ, राख्न पनि घीन लाग्छ तर यसैमा पैसा आउँछ, के गर्ने ?’ जाँड र रक्सी नखानेहरू त मेरा उनीकहाँ पानी पनि खान मान्दैनन् रे ! त्यो बेलामा चाहिँ दिक्क लाग्छ भन्छिन् ।
३. उनलाई एउटा कुरामा भने सधैँ दिक्क लाग्छ– केटाकेटीले यो सबै देख्छन् र मातेको मान्छेसँग पनि कुरा गरेको सुन्छन् । मातेको मानिस त होसमा हुँदैन । जब होसमा हुँदैन, उसले भन्ने कुराको पनि त कुनै सीमा हुँदैन । साँच्चा साँच्चा कुरा पो गर्न थाल्छन् मातेका झोँकमा । रक्सी दियो, जाँड दियो, मासु दियो अनि भन्न थाल्छ– ‘उधारोमा टिप है !’ अनि गाडी लिएर कता हो कता हिँड्छ ।
बसुन्जेल चिनेजस्तै, गएपछि कता हो कता । त्यसैले त ऊसँग पैसा हुन्जेलसम्म नै धेरै पैसा उठाउने गर्नुपर्छ । जब रक्सीले मात्न थाल्छ, उसले सबै पैसा देखाउन थाल्छ र घरबाट टाढा भएको दुखेसो पोख्न थाल्छ । पसल्नी नानीले कुरो बुझे पनि नबुझेजस्तो गर्नु नै दिनचर्या भएको छ ।
४. सबै काममा जान्छन् । कतै काममा अरूलाई पठाउनु पनि पर्छ । एक्लै हुनुपर्ने हुन्छ । अनि उनको आङ ढक्क फुल्छ– ‘कस्तो जँड्याहा कतिबेर आउने हो ?’
तर उनलाई लाग्छ, ‘जे होला, जोसुकै आउला । डर मानेर कसरी चल्छ र ! रक्सीको व्यापार त गर्नु नै छ ।’
५. धेरै आउँछन् र कोही त उसैसँग नै जिस्किन्छन् । घुमाउरो पारामा जे पनि माग्छन् । उनलाई भने छोरीहरूलाई जिस्क्याएको सुन्नुभन्दा आफैँलाई जिस्क्याएको कुरा ठीकै लाग्छ । र पनि ख्यालख्यालमा पनि कसैले पसल्नीलाई नै पट्याएँ पो भन्दै हिँड्ने हो कि भनेरचाहिँ डर नै लाग्छ । फेरि बूढा छन् अलिक झन्काहा । आफैँ रक्सी बेच्न कर गर्छन् अनि रक्सी खाने मानिस अबेरसम्म बस्यो भने ‘किन त्यो बसेको अबेरसम्म ?’ भनेर निहुँ खोज्छन् । ‘त्यसलाई किन मात्ने गरी खान दिएको ?’ भनेर झगडा पो गर्न थाल्छन् । ‘जहान पाल्नु छ, व्यापार गर्नु छ र त यस्तो काम गरेकी’ भनेर हाक्काहाक्की भनेकी हुन्छिन् सबैलाई सुनाउँदै उनले ।
६. कोही रक्सी बेच्न र मासु बेच्न पाए हुन्थ्यो भन्दै जागिर खोज्न पनि आउँछन् । धेरैजसो तरुनीहरू नै आउँछन्, बिहे नभएका, लोग्नेले छाडेका, लोग्ने विदेश गएका र साँच्चै अरू ठाउँमा भट्टी नै चलाएका । तर उनले भन्ने गरेकी छन्, ‘आफैँलाई त बेच्न पुगेको छैन, अरूलाई कसरी ठाउँ दिने ? फेरि कसको के भर छ र ?’
७. अनि गाउँको अवस्था बिग्रनुमा आफू पनि पो कारक भइएको हो कि भनेर राती सुतेको बेलामा सम्झँदा डर पनि लाग्छ, पीर पनि लाग्छ उनलाई । तर बिहान नउठ्दै कोही आउँछ ढोका ढक्ढक्याउन ‘साहुनी, आधा गिलास लोकल दिनुस् न’ भन्दै । फेरि त्यही कार्य सुरु हुन्छ र दिनभर त्यस्तै हुन्छ । कतै ढोका लगाएर गएकी भए पनि फोन पो गर्छन् त चाँडै आउनका लागि– एक घुट्की घुट्क्याउन ।
८. आफू नखाने तर बेच्नै पर्ने । कस्तो बाध्यता हो ! भनेर खिन्न पनि लाग्छ तर बालबालिकाको शिक्षा, स्वास्थ्य र लुगा चलाउन पनि भट्टीको आवश्यकता परेको सम्झेर चित्त बुझाउने काम गरेको बुझ्न सकिन्छ ।
९. धेरै ग्राहक आउँछन् र पसल्नीलाई नै लैजाने कुरा पनि गर्छन् । माया गरेको जस्तो पनि गर्छन् । उनले सबैका कुरालाई सकारात्मक जस्तै देखाउँछिन् । उनलाई थाहा छ, जस्तो रक्सीको मात हो, त्यस्तै उसको माया पनि । केही छिनमा आफैँ हराउँछ पानीको फोकाझैँ । उनको संसार आफ्नै छ र पनि कसैको प्रस्तावको न त विरोध गर्छिन्, न सहजै स्वीकार गर्छिन् । ‘ग्राहक त देवता हो’ भन्दै सबै कुरा सहने र चुपचाप बस्ने बानी छ उनको जबकि उनी बाचालमा पर्छिन् गाउँमा । सायद ग्राहक रिसाएमा व्यापार हुँदैन भन्ने त्रास पनि छ क्यारे !
१०. रक्सी, ग्राहक र माया । रक्सी पसलका यी स्थायी भ्रम हुन् र निरन्तर चल्ने भयानक वृत्तको पाटो पनि हुन् । नियमित आकस्मिकता । रक्सी ग्राहकबिना चल्दैन, ग्राहक रक्सी खाएपछि मायाका कुरा नगरी रहन सक्दैन र एकछिनपछि ती सबै आफैँ हराउँछन् भन्ने पनि उनलाई थाहा छ । कुनै माया त स्थायी पनि हुनसक्ला तर मनभित्र मात्रै । बाहिर भन्न नमिल्ने ।
११. तर पसल्नीलाई भने आफूले पढ्न नपाएकामा पछुतो छ । त्यस्तै ५–६ कक्षामा पढ्दा होला, एक दिन सरले पिट्नुहोला, होमवर्क गरेको छैन भनेर स्कुल नगएको, त्यसपछि कहिल्यै गइएन भन्ने गुनासो प्रायः ग्राहकहरूले सुन्छन् । पसल्नीले भन्ने कुरा अर्को पनि छ– ‘ऊ त क्लासकी फस्ट पो थिई त ! तर किन स्कुल गइनन् र किन पढिनन् भन्ने कुरा थोरैलाई मात्र थाहा छ ।’ उनी आफैँलाई सम्झेर खिसिक्क हाँस्छिन् र एकपल्ट आफूलाई ऐनामा गएर हेर्छिन् । अझै कहाँ कम छु र ? भन्ने भाव झल्किन्छ उनमा ।
आफ्नी ठूली छोरीलाई हेरेर मुसुक्क हाँस्छिन् । ठूलै उमेरमा पढ्न गएकी थिइन् उनी । केके भयो, अब किन सम्झनु भन्ने पनि लाग्छ सायद । तर बिर्सनु त कसरी र ? जो जीवनको बिहानीमा नै घटेको थियो ।
१२. रातदिनको चटारो, ग्राहक, रक्सी, पैसा, उधारो अनि घरको टन्टा । वस्तुभाउ, ऋणको व्यवस्थापन, उधारो उठाउने झन्झट अनि नगदको कारोबारमा आउने नाफा । यही हो जिन्दगी भन्दै एक्लै फत्फताउले बानी त छ तर हँसिली पसल्नीको अनुहारले सबैलाई लट्ठ पार्ने गर्छ । उनका बूढा पनि हाँस्छन् र चल्तापुर्जाकी बूढी पाएकामा भगवानलाई धन्यवाद दिन्छन् ।
ग्राहकहरूले भन्ने गर्छन्– ‘यी छोराछोरीहरू त ठ्याक्कै बाबु जस्ता ।’ पसल्नी खिसिक्क हाँस्छिन् र भन्छिन्– ‘म जस्ता कि बूढा जस्ता ?’ अनि अतीतका पाना आफैँ पल्टाउँदै केटाकेटीहरूलाई स्कुल जान कराउन थाल्छिन् । गाउँघरमा सबैले साहै्र फरासिली भन्छन् र छन् पनि त्यस्तै ।
१३. यस पटकको तीजमा पशुपति जाने उनको इच्छा छ, भाकल छ रे बूढाका लागि । केही दिन भट्टी बन्द गरेर भए पनि काठमाडौँ जाने र तीजमा पशुपतिमा गएर बूढाका लागि राम्रै आशीर्वाद माग्ने विचार सुनाउँछिन् । ग्राहकहरू भने त्यसमा पनि खिज्याउँछन् र भन्छन्– ‘यही जुनीका बूढाका लागि कि अर्को जुनीका बूढाका लागि ? कतिओटा बुढाका लागि ?’
उनी नरिसाई भन्छिन्– ‘सात जुनी त उहाँसँगै बस्ने निर्णय भइसक्यो नि त !’ सायद यो बेलामा उनको अतीत कतै बोल्दैन, वर्तमानमा मात्र उनी बोलिरहेकी छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६