सर्प एउटा जिन्दगी
विषालु दाँतको डसाइ
नीलो नीलो डामसँगै
विषको विस्तार भयानक
हुने गर्छ शरीरमा मानिसको
के सर्पलाई सर्पले टोकेमा विष लाग्छ ?
तर मान्छे त मान्छेलाई टोकेर विषमय
बनाएर सबैतिर विषमय बनाउँछ
विष ओखती पनि हो
विष मृत्युको कारक पनि हो
काँतरले विष खान्छ भन्छन्
तर विषको परिणाम थाहा भएर
विषपान गर्ने कसरी काँतर हुन्छ र ?
सर्पको विष, सर्प आफैँ विषधर भए पनि
नियतिचाहिँ मानिससँग सधैँ डराएर
आस्तिकको पर्खाइमा सधैँ
परीक्षितसँग डराएर
जन्मेजयले गर्ने विष यज्ञको सधैँ प्रतीक्षारत
सर्पको नियति बाँचेर सधैँ प्रतीक्षारत जीवन
आफ्नो अन्त्यको प्रतीक्षारत जीवन
सर्पको जीवनको नियति भोगेर विस्तारै आफैँलाई सम्झेर
भन्छन् एकपटक आघात दिने मान्छेलाई सर्पले
बाह्र वर्षसम्म पनि बिर्सँदैन
शरीरभरि विष बोकेर विषमय जीवन बोकेर
अरुको भलाइ गर्न विषधरले आफूलाई समाप्त गर्न
आफैँले आफैँलाई समाप्त पार्ने चक्रको निर्माता सर्प
जीवन त त्यही न हो सबैका लागि विषधर
आफैँमा विषमय जीवन बोकेर बाँच्नेलाई
सर्पको जीवन लोभलाग्दो हुने रहेछ
कसैसँग नझुके पनि आस्तिकको खोजीमा तक्षक
तक्षकको खोजीमा परीक्षित अनि उनका छोरा जन्मेजय
थाहा छ व्यासलाई सबै भविष्य सर्पको समेत
अनि त उनी भन्छन् आस्तिकलाई नखोज्नू
बरु विषलाई ग्रहण गर्न तयार हुनू
एउटा भाग्यको भाग्य हुन्छ
एउटा भाग्यको भवितव्य हुन्छ
भाग्य र भवितव्य एउटै बनाउने व्यासको नियतिमा
सर्पको अहम् भूमिका हुन्छ भागवत पाठ गराउनका लागि
तर थाहा छ व्यासलाई बेकार छ एक साताको भागवत पाठ
किनभने परीक्षितको त अन्त्य निश्चित छ कलीयुगको प्रारम्भमा
जयलाई महाभारतको स्वरुप बनाउनलाई
एउटा सर्प चाहिएको थियो कारण बन्न
बन्यो सर्पको नियति बाँच्न द्वापर युगको अन्त्यको सीमा जोड्न
तोडियो सीमा तर सकिएन नियतिलाई तोड्न
सर्पको नियति बाँचेको जिन्दगीसँग
सबैतिर विषमय छ
विषको मात्र घटी बढी होला सर्पको व्यक्तित्वसँगै
सर्पत्वसँगै सर्पशास्त्रमा पनि
सर्पशास्त्रको मनोविज्ञान नपढेको नहुषले
शनै शनै हिँडेका सप्तर्षिलाई जब गाली गरे
सर्पको नियति जोडेर शनै शनै किन हिँडेको
सर्पको नियति भोगेको नहुषलाई एउटा श्राप प्राप्त भयो
नियतिसँगै जीवन बाँच्ने
सर्पको विषले बाँचेको जिन्दगीसँगै नयाँ जीवन बाँच्ने सर्प
समय सर्प हो शनै शनै तर रफ्तारमा शनै शनै
शनै शनैको रफ्तारमा गतिको नियति लुकेको हुन्छ
सर्पको नियतिसँग बाँचेको जिन्दगी
आफैँमा बोझिल बनेको नहुषको जिन्दगीसँग
स्वर्गको सपना साकार भएको जिन्दगी पनि त थियो
शचिको लोभमा सर्पको नियति कसरी लुकेको थियो ?
शचि र सर्प —सप्तर्षि र सर्प अनि नहुष र सर्पको नियति
कौरव र नहुष, सर्प र आस्तिक अनि सर्प र परीक्षित
सर्पको नियतिमा बाँचेको जिन्दगी कति हराभरा होला नि त ?
सर्पको नियतिसँगै बाँचेको जिन्दगीसँग
सर्पको परिभाषा चाहियो सर्पको जीवन बाँच्न
सर्पको विषधरपन लाई साँचेर राख्न
सर्पको नियतिसँग बाँचेको जिन्दगीसँग मितेरी लाउन ।
प्रकाशित मिति: शनिबार, चैत ९, २०७५