काठमाडौं : काठमाडौंको बत्तीसपुतलीमा एउटा खाजाघर छ । नाम हेर्नेवित्तिकै सबैको ध्यान तान्छ । यस खाजाघरको बोर्डमा आँखा पर्नेहरू धेरैजसोले रोकिएर फोटो खिचिहाल्छन्, कतिले त सेल्फी हान्न पनि भ्याउँछन् ।
समाजका निमुखा र विपन्नका लागि वा शहरका धनीमानी र सम्पन्नका लागि पनि यहाँ परिकार पाक्ने संकेत बोर्डमा लेखिएको नामले गरेको छ । ठूलो अक्षरले बोर्डमा लेखिएको छ, ‘हरि कंगाल एण्ड धनीराम खाजाघर ।’
यस खाजाघरकी सञ्चालक निशा हुमागाईंका अनुसार धेरैले यसको नामबारे सोधेर हैरान बनाएका छन् । ‘अनौठो र रोचक नाम भएर पनि होला, धेरैले यहाँ आएर आश्चर्य मान्दै सोध्नुहुन्छ’, उनी भन्छिन् ।
यो हाम्रो समाजको प्रतिबिम्ब देखाउने एउटा व्यंग्यात्मक कर्म हो । हाम्रो समाजमा बढ्दै गएको शहरीया जीवनशैली, मानिसमा बढेका अपेक्षा र आवश्यकताले जन्माएको तीखो र दुखद् अवस्थाको चित्र पनि हो यो ।
मानिसको जीवनशैलीमा पछिल्लो समय आएको परिवर्तनलाई धान्न निकै मुस्किल हुनथालेको छ । सामान्य आयआर्जन भएका बाबुआमाले छोराछोरीको महँगो र भड्किलो जीवनशैलीलाई धान्न नसक्ने अवस्था आएपछि सुरु भएको हो– ‘हरि कंगाल एण्ड धनीराम खाजाघर ।’
अहिलेको समाजमा माध्यमवर्गका आमाबाबुको जीवनशैली र छोराछोरीको जीवनशैलीको खाडललाई सम्याउन निकै गाह्रो छ । यसका निम्ति धेरै बाबुआमाले सन्तानको खुसीका खातिर धेरै कुरामा त्याग गर्नुपरेको अवस्था छ ।

गोकुल र निशा हुमागाईंले खाजाघर व्यवसाय सुरु गरेको एक दशक भयो । सुरुमा खाजाघरको नाम टपरी खाजाघर थियो । कोठाभाडा तिरेर काठमाडौंमा व्यवसाय गर्नुको बाध्यता उनीहरूलाई नै थाहा छ । उनीहरूको रातदिनको मिहिनेत र श्रमको उपलब्धि सोचेजसरी हुनसकेन टपरी खाजाघरबाट । त्यसमाथि गोकुल खाली समय ट्याक्सीसमेत चलाउने गर्छन् । बढ्दो महँगी र चुलिँदो आवश्यकताका कारण अब के गर्ने ? कसरी गर्ने ? भन्ने सोचमा अल्झिन पुगे यी दम्पत्ती ।
समस्याकै बेला समाधानका उपाय फुर्छन् भनेझैँ उनीहरूलाई अचानक फुर्यो– खाजाघरको नाम ‘युनिक’ राख्ने । नाम पनि यस्तो जुर्यो कि झट्ट कसैले सुन्दा वा पढ्दा नै टिप्ने । यस नामका पछाडि दुईवटा कारण रहेको हुमागाईं बताउँछन् । उनी भन्छन्, ‘एकातिर युनिक नामका कारण ग्राहक आकर्षित हुने, अर्कातर्फ हाम्रो समाजको यथार्थमाथि व्यंग्य पनि हुने भएकाले यो नाम रोजेका हौँ ।’
पछिल्लो समय गरिब बाबुका छोराछोरीहरूको जीवनशैली महँगो भयो । माध्यमवर्गले धान्नै नसक्ने स्थिति आयो । बाबुआमाको बाध्यता र सन्तानको महँगो जीवनशैलीका कारण आमाबाबु र सन्तानका सोच, व्यवहार र जीवनशैलीबीच धेरै खाडल देखेपछि त्यही समाजको चित्रलाई प्रहार गर्न होटलको नाम फेरिएको निशा हुमागाईं बताउँछिन् ।
टपरी खाजाघरको नाम फेरिएर ‘हरि कंगाल एण्ड धनीराम खाजाघर’ नाम पतिर्वतनको आसय जति दुःख गरे पनि बाबुआमा गरिबै रहनुपर्ने र छोराछोरीले आमाबाबुको वास्तविकता लुकाएर सौखिन हुन खोज्ने प्रवृत्तिलाई प्रहार गरेको सञ्चालक हुमागाईंको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, चैत २०, २०७५