काठमाडौं : कपिलमणि दीक्षितको सानैदेखिको सपना हो, नाङ्गा तस्बिर कोर्ने । कालान्तरमा उनले त्यो सपना संसारभर पुर्याए पनि । उनले कोरेका नाङ्गा तस्बिरहरू अर्थात ‘न्युड आर्ट’ अमेरिका, अष्ट्रेलिया, युरोपका कुनाकुना फैलिइसकेका छन् ।
कपिलमणि भन्छन्, ‘झट्ट नेपालीमा सुन्दा नाङ्गो तस्बिर भन्दा मान्छेले नाक खुम्च्याउँछन् । तर, त्यही कुरालाई अग्रेजीमा ‘न्युड आर्ट’ भन्दा सभ्य ठानिन्छ ।’ सुन्धारामा रहेको उनको आर्ट केन्द्रमा मात्रै होइन, समय-समयमा मिडिया तथा सोसल मिडियामा समेत चर्चा हुने यस्ता न्युड आर्ट हेर्दा साँच्चै नै विचित्र संसारमा पुगेकाे धेरैले अनुभूत गरेका हुन्छन् ।
कपिलमणिका अनुसार हालसम्म पाँच सयभन्दा धेरै मुलुकमा न्युड आर्टको एक्जिबिसन भइसकेको छ । ‘अझै पनि नयाँनयाँ न्युड आर्टको सिर्जना गर्दै छु’, दीक्षित भन्छन्, ‘मान्छेलाई सधैँ यसले नयाँ उत्साह र उमंग पैदा गर्नमा मद्दत गर्छ ।’
नाम र दाम दुवै हुने भएपछि यसलाई प्यासन मात्रै नभएर प्रोफेसनमै पनि उनी रमाइरहेका छन् । ‘कमाइ पनि मनग्य नै हुन्छ’, दीक्षित भन्छन्, ‘वास्तवमा यो मेरो प्यासन नै थियो । तर, पछि प्रोफेसन पनि बन्यो ।’ सानोको सपना, पछि अध्ययन र अहिले प्रोफेसन भएको उनी बताउँछन् ।
टुँडालका कलाकृति हेर्दा पनि हुन्छ । पूर्वीय सभ्यतामा यौनबारेको खुला बुहस र बुझाइ पनि मानिसहरू यसप्रति आकर्षित भएका हुन् । नेपालमा संकीर्ण बुझाइका कारण पनि यस्ता चित्रहरूबारे बहस गर्नु अति आवश्यकता भएको उनको बुझाइ छ । यौन शिक्षाका लागि अति नै उपयुक्त हुने न्युड आर्टले शरीरका हरेक अंग तथा तिनका उपयोगबारे स्पष्ट पार्ने उनी बताउँछन् ।
नेपालमा प्रोफेसनल मोडलहरूको कमीले गर्दा नेपालमा भनेजस्तो न्युड आर्ट कोर्न गाह्रो भएको अनुभव उनीसँग छ । विदेशमा भने मोडललाई मूल्य तिरेपछि भनेजस्तै गरी तस्बिर कोर्न सकिन्छ । नाङ्गो मोडललाई हरेक एंगलबाट विश्लेषण गरी यस्ता आर्ट तयार पार्ने उनी बताउँछन् । अमेरिका टेक्सासस्थित डलास काउन्टी कम्युनिटी कलेजबाट ‘न्युड स्टडी’ मा स्नातक गरेका दीक्षितले भर्खरै अष्ट्रेलियामा एक्जिबिसन सकेर नेपाल फर्किएका छन् । दीक्षितले पाँच सयभन्दा बढी न्युड आर्ट बनाइसकेका छन् ।
न्युड आर्टमा त्यसै पनि मानिसकाे रुचि हुने भएकाले नाङ्गा तस्बिरहरूको प्रदर्शनीमा दर्शक बढी हुने गरेको अनुभव दीक्षितसँग छ । यस्ता नाङ्गा तस्बिरहरूबारे चलचित्र, उपन्यासदेखि लिएर हलिउड तथा बलिउडमा निकै बहस हुने गरेको पाइन्छ ।
साहित्यकार सुविन भट्टराईको युवा मनोविज्ञानमा आधारित समर लभ उपन्यासमा पनि निर्वस्त्र दृष्यहरू राखिएको हल्ला गरिएका थिए । हुन त उनका उपन्यासमा मात्रै होइन, बिपीले लेखेको उपन्यास सुम्निमादेखि अन्य धेरै उपन्यासहरूमा यस्ता दृष्यहरू राखिएका हुन्छन् । पुस्तक बिकाउने कलाको रूपमा होस वा अन्य मनोवैज्ञानिक तरिकाले । तर, चर्चा जहाँ जसरी भए पनि यसको उद्देश्य वा नियत गलत हुनु नहुने दीक्षित बताउँछन् ।
राजधानीकै हनुमानढोकास्थित कलाकृतिहरूमा पनि यस्ता काँठे तस्बिरहरूमा निक्कै कलात्मक ढंगले नाङ्गा तस्बिरहरू राखिएका छन् । दीक्षित प्रश्न गर्छन्, ‘के अब यसलाई पनि उच्छृंखल भन्ने ?’ दीक्षितले कोरेका तस्बिरहरू नेपालमा बीस हजारदेखि एक लाख रुपैँयासम्ममा पेन्टिङ बिक्री हुने गरेको छ ।








प्रकाशित मिति: शनिबार, चैत ९, २०७५