सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त संघीयता तथा प्रदेश संरचना कसैको हल्का टिप्पणी वा राजनीतिक बहसका आधारमा खारेज हुन नसक्ने बताएका छन् ।
कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा आयोजित समारोहमा उनले छुट्टै प्रदेश स्थापनाका लागि कर्णालीका दसवटै जिल्लामा भएको आन्दोलन स्मरण गर्दै प्रदेश संरचना जनताको संघर्षको परिणाम भएको बताए ।
मुख्यमन्त्री शाहीले प्रदेश सरकारको सुरुवाती चरणमा देखिएका कमजोरी, जनशक्ति अभाव र आर्थिक स्रोतको सीमिततालाई आधार बनाएर प्रदेश आवश्यक छैन भन्ने निष्कर्षमा पुग्न नमिल्ने बताए । प्रदेश संरचनाले अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गर्दै उनले कमजोरी सुधार गरी प्रदेश सरकारलाई थप सक्षम र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
उनले संघीयता र प्रदेश संरचनामाथि बहस भइरहे पनि जनताको बलिदानीबाट प्राप्त संरचना कसैको टिप्पणीका आधारमा हट्न नसक्ने स्पष्ट पारे।
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३