काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट नेपाल बुद्धिजीवी सङ्गठनले नागरिकप्रति संवेदनशील राज्य र आत्मअनुशासित नागरिकको एकताको बलमा कोभिड–१९ विरुद्ध दृढतापूर्वक लड्न सकिने जनाएको छ ।
विश्वका सरकार र नागरिक कोभिड–१९ का विरुद्ध योजनाबद्ध र अनुशासित ढंगले संघर्ष गरिरहेको उल्लेख गर्दै सो संगठनले सफलता हासिलका लागि राज्य र नागरिकको सहकार्य अत्यावश्यक भएकामा जोड दिएको छ ।
संगठनका संयोजक डा. दिनेशचन्द्र देवकोटा र सहसंयोजक कृष्ण केसीले जारी गरेकाे विज्ञप्तिमा नेपाल सरकारका तर्फबाट नागरिकका लागि अत्यावश्यक वस्तुको आपूर्ति र स्वास्थ्य परीक्षणमा देखिएको संवेदनशीलता र महामारीविरुद्ध लड्न नागरिकलाई गरेको आग्रह नागरिकको सुरक्षाका लागि नै भएको स्पष्ट गरेको छ ।
सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गरेर मात्र सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ । यसतर्फ सचेत रहन हामी अपिल गर्दछौँ । बुद्धिजीवीहरु समाजका सचेत र अगुवा नागरिक हुनुका नाताले नागरिकलाई सही सूचना र सन्देश प्रवाह गर्नु, समस्या परेका बखत खुला दिलले सहयोग गर्नु पनि हाम्रो जिम्मेवारी हो , विज्ञप्तिमा भनिएको छ ।
पूरा विज्ञप्ति पढ्नुहाेस्ः
विश्वव्यापी महामारीका रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) ले ल्याएको असहजताका कारण सिंगो मानव जाति नै कुनै न कुनै रुपमा प्रभावित भइरहेको छ । मानव जाति यस महामारीमाथि विजय प्राप्त गर्न निरन्तर प्रयत्नशील छ । जुन देशको सरकार र नागरिक कोभिड–१९ का विरुद्ध योजनावद्ध र अनुशासित ढंगले संघर्ष गरिरहेका छन्, उनीहरुले एकपछि अर्को सफलता पनि हासिल गर्दैछन् । यस अर्थमा कोभिड–१९ विरुद्धको लडाइँमा राज्य र नागरिकको सहकार्य अत्यावश्यक देखिएको छ ।
नेपाल सरकारले कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै चैत्र १८ गतेसम्मका लागि सिंगो देशलाई ‘लकडाउन’ गरेको छ । सरकारका तर्फबाट नागरिकका लागि आवश्यक पर्ने अत्यावश्यक वस्तुहरुको आपूर्ति, स्वास्थ्य परीक्षणमा देखिएको संवेदनशीलता र महामारीविरुद्ध लड्न नागरिकलाई गरेको अपील आफैंमा महत्वपूर्ण छ ।
सरकारले लिएका निर्णय नागरिकको सुरक्षाका लागि नै हुन् । यसर्थ, सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयहरुलाई दृढतापूर्वक पालना गरेर मात्र सम्भावित जोखिमलाई न्युनिकरण गर्न सकिन्छ । यसतर्फ सचेत रहन सम्पूर्ण नेपालीहरुमा नेपाल बुद्धिजीवी संगठन हार्दिक अपील गर्दछ ।
नागरिकप्रति संवेदनशील राज्य र आत्मअनुशासित नागरिकको एकताका बलमा मात्रै कुनै पनि महामारीविरुद्ध दृढतापूर्वक लड्न सकिन्छ । हामीलाई पनि अहिले त्यस्तै संवेदनशीलता र आत्मअनुशासनको एकता चाहिएको छ ।
त्यसका लागि नागरिकले पर्याप्त स्वास्थ्य सतर्कता अपनाउन जरुरी छ । लकडाउनको अवस्थामा घरबाहिर ननिस्कन, साबुन पानीले नियमित हात हुन, मास्कको अनिवार्य प्रयोग गर्न, शरीर तथा बासस्थान सफा राख्न, स्वस्थकर खानामा ध्यान दिन, अनावश्यक भ्रमबाट आतंकित नहुन र पर्याप्त सावधानी अपनाउन सबैमा अपील गर्दछौं ।
बुद्धिजीवीहरु समाजका सचेत र अगुवा नागरिक हुनुका नाताले नागरिकलाई सही सूचना र सन्देश प्रवाह गर्नु, समस्या परेका बखत खुला दिलले सहयोग गर्नु पनि हाम्रो जिम्मेवारी हो । तसर्थ, कोरोना भाइरसको महामारीविरुद्ध सरकारले खडा गरेको कोषमा सम्भव रकम सहयोग गर्न, आफ्नो घर, छिमेक र टोलमा समस्या परेमा नैतिक, भौतिक लगायतका सहयोग गर्न, कोरोना भाइरसबारे सचेतना प्रवाह गर्न र आफ्नो घरमा डेरा गरी बस्ने नागरिकलाई सम्भव सहुलियत प्रदान गर्न नेपाल बुद्धिजीवी संगठन हार्दिक अपील गर्दछ ।
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६ ११:५९