काठमाडौं : चलचित्र विकास बोर्डको रिक्त रहेको अध्यक्ष पदका लागि आवेदन दिनेहरूसँग अन्तर्वार्ता लिने क्रम सकिएको छ । माघ २५ गतेदेखि खालि रहेको अध्यक्ष पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार र मंगलबार अन्तर्वार्ता लिएको थियो । उनीहरूलाई दुई चरणमा अन्तर्वार्ता लिइएको हो ।
फागुन १७ गतेसम्म परेको आवेदनका आधारमा सर्टलिस्टमा छ जनाको नाम छनौट गरेको थियो । सर्ट लिस्टमा राखिएकाहरू टीकाराम घिमिरे (योगेश), केशव भट्टराई, सुचित्रा श्रेष्ठ, सोहित मानन्धर, भगवतीकुमारी मैनाली उप्रेती (भीमा मैनाली) र गणेशप्रसाद उपाध्याय खनाल (देशभक्त खनाल) सँग अन्तर्वार्ता लिने क्रम सकिएको हो ।
चलचित्र विकास बोर्डमा राजनीतिक हस्तक्षेप बढी भएपछि आवेदन मार्फत छनौट गरिने प्रावधान राखिएको थियो । तर, त्यो प्रावधान अनुसार छनौट नभएको स्रोतको दाबी छ । किनभने आवेदनको सर्ट लिस्टमा पनि सरकार गठन पार्टी निकटकाहरूलाई मात्रै राखिने गरिएको छ ।
नयाँ प्रावधान अनुसार कम्तीमा स्नातक तह उत्तीर्ण हुनुका साथै चलचित्र क्षेत्रमा कम्तीमा दस वर्ष बिताएको हुनुपर्ने राखिएको छ । यसअघि राजनीतिक हस्तक्षेप बढी हुने गरेको थियो । तर यस नयाँ प्रावधानले कम्तीमा अयोग्यहरूले आवेदन दिन भने नसक्ने अवस्था आएपछि केही सकारात्मक रुपमा लिइएको थियो ।
यसअघि अध्यक्ष रहेकी निकिता पौडेलको कार्यकाल बाँकी हुदै राजिनामा गर्न दबाव परेको थियो । साथै उनी माथि केही काम नगरेको आरोप पनि लाग्ने गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव राधिका अर्यालको संयोजकत्वमा गठित छनौट समितिले ती सबै छ जनासँग अन्तर्वाता लिएको थियो । मन्त्रालयका सहायक प्रवक्ता मुकुन्द शर्माका अनुसार बोर्ड अध्यक्षको नाम सम्भवतः बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले सार्वजनिक गर्ने छ ।
सर्ट लिस्टमा रहेकामध्ये एक हुन् केशव भट्टराई । उनका अनुसार अन्तर्वार्ता एक घण्टा लिइएको थियो । तर, अन्तर्वार्तामा बस्नेहरूको नाम समेत आफूलाई थाहा नभएको उनले बताए । त्यस्तै अर्की प्रतिस्पर्धी तथा महिला निर्देशक सुचित्रा श्रेष्ठले पनि अन्तर्वार्ता निक्कै राम्रो भएको बताइन् । उनले भनिन्, ‘अन्तर्वार्ता राम्रोसँग दिएको छु । पक्कै पनि नियुक्ति हुने मौका पाएमा राम्रै काम गर्ने छु ।
- केशव भट्टराई, चलचित्रकर्मी
सन् १९६८ नाभेम्भरमा ओखलढुंगामा जन्मिएका केशव भट्टराई ५० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । उनले चलचित्र निर्देशनदेखि निर्माण हुँदै अभिनय समेत गरेका छन् । उनले आफ्नो मान्छे, कर्मयोद्धा, सो सिम्पल, ब्रास्लेट जस्ता चलचित्र पनि निर्माण गरिसकेका छन् ।
त्यस्तै यात्रा, छोडिगए पाप लाग्ला, देवर बाबु, पाहुनामा उनकै प्रस्तुति थियो । उनी अनामनगरमा बस्दै आएका छन् । उनले दर्जनौँ चलचित्र अवार्ड पनि पाएका छन् । उनी एमाले निकट मानिन्छन् ।
- सुचित्रा श्रेष्ठ, निर्देशक
सुचित्रा श्रेष्ठ सिनेमाटोग्राफी गर्ने पहिलो महिला हुन् । त्यसबाहेक चलचित्र निर्देशन र निर्माणमा पनि उनी सक्रिय छिन् । अहिले उनी चलचित्र निर्देशक समाजकी अध्यक्ष समेत हुन् । को कसको र प्रेम युद्ध जस्ता चलचित्र निर्देशन गरिसकेकी सुचित्रा फिक्काको निर्माता पनि हुन् । उनी पनि एमाले निटक नै हुन् । सुचित्राले पनि थुपैै अवार्डहरू पाएकी छिन् ।
टीकाराम घिमिरेको चलचित्रको नाम योगेश घिमिरे हो । उनले केही समयअघि चलचित्र नोटबुकको निर्देशन गरे । योगेशले पहिलो पटक टेलिभिजनमा सिन्दूर नामक टेलिफिल्म निर्देशन गरेर सपुत फिल्मबाट ठूलो पर्दामा पाइला चालेका हुन् । उनले निर्देशन गरेको टेलिफिल्म सपुत निकै हिट भएको थियो तर पहिलो फिल्म भने सफल हुन सकेन ।’
उनको सम्झना फिल्मले राम्रै सफलता पाएको थियो । त्यसपछि योगेशले तिमी मात्र तिमी नामक फिल्म निर्देशन गरे जहाँ अभिनेत्री झरना थापालाई बोल्न नसक्ने पात्रको रूपमा प्रस्तुत गरिएको थियो । योगेश अहिले पनि यो फिल्मलाई आफूले निर्देशक गरे मध्येको उत्कृष्ट फिल्मको लिस्टमा राखेका छन् । तर, बिडम्बना यही फिल्म व्यावसायिक रूपमा योगेशको सबैभन्दा असफल फिल्म बन्यो ।
यसपटक निर्देशन गरेको फिल्म ‘नोटबुक’ ले भने योगेशको उचाइ बढाउने फिल्मकर्मीको पनि अनुमान छ ।
देशभक्त खनाल, चलचित्रकर्मी
नेपाली चलचित्रको जिउँदो इतिहासमध्ये एक हुन् देशभक्त खनाल । उनले दर्जनौँ नेपाली चलचित्रमा अभिनय गरेका छन् । यसका साथै उनले केही चलचित्र पनि निर्माण गरेका छन् ।
भगवतीकुमारी मैनाली उप्रेती
टेलिशृंखला मार्फत् नेपाली रजतपटमा आएकी हुन्, भगवतीकुमारी मैनाली उप्रेती । उनको चलचित्रको नाम हो, भिमा मैनाली । साना फिल्म समेत निर्माण गरेकी उनी चर्चित पात्र हुन् ।
प्रकाशित मिति: बुधबार, फागुन २९, २०७५