भनिन्छ, नाम होस् वा बद्नाम तर गुमनाम नहोस् । हुनत यो भनाइ अरू धेरैसँग मिल्न सक्ला तर अभिनेत्री रेखा थापासँग भने ठ्क्याक्कै मेल खान जान्छ । नेपाली चलचित्र जगतमा उनको इन्ट्री यस्तो तरिकाबाट भयो कि अहिले उनी आफैँ पनि पत्याउन गाह्रो मान्छिन् ।
संघर्षका कथा सबैका हुन्छन् तर यति धेरै प्यासन बोकेर हिँडेकी कलिली रेखालाई आज यो हैसियत प्राप्त होला भनेर सोच्न पनि सक्दिनन् । रेखा भन्छिन्, ‘कलाकार बन्छु भन्ने त थियो तर यो स्थानसम्म आइपुग्छु भन्नेचाहिँ थिएन ।’ कतिले उनका कुरा काटे, कतिले प्रसंशा गरे । उनले अभिनय गरेका कति फिल्म चले, कति फ्लप भए । ती तपसिलका कुरा हुन् ।
समग्रमा कुरा गर्दा उनी चलचित्र क्षेत्रकी यस्ती अभिनेत्री हुन्, जो यतिका वर्षसम्म निरन्तर केही अपवाद विवादबाहेक सधैँ चर्चामै रहिन् । उनीभन्दा सिनियर पनि धेरै थिए, जुनियर त अहिले च्याउसरि छन्- उम्रिन नपाउँदै बिलाइहाल्ने खालका । अभिनेत्रीकोहरूको संख्या पनि बढ्दो छ तर निरन्तरता भने पाइँदैन । यसका डाइनामिक पाटाहरू केलाउने हो भने धेरै कुरा आउलान् तर समाजले यसरी केलाएर भन्दा पनि सरसर्ती हेर्छ । भनिन्छ नि- जित्नेको इतिहास लेखिन्छ । त्यस्तै इतिहास लेखाउन लायक भएकी छन्- अभिनेत्री रेखा थापा ।
यसको अर्थ यो होइन कि अरू नालायक छन् । खैर, यी कुराहरू किन पनि सान्दर्भिक छन् भने चलचित्र खेल्नु मात्रै ठूलो कुरा होइन । चलचित्रमा टिक्नु सबैभन्दा ठूलो कुरा हो । एउटा चलचित्र बन्यो, फ्लप खायो । एउटा फिल्म खेल्यो, पैसा पाएन । एउटा फिल्म खेल्यो, फिल्म इन्डष्ट्रीकाहरूले शोषण गर्न खोजे । यस्ता थुप्रै खालका कथाकहानी आउँछन् र कतिपय फिल्म इन्डष्ट्रीबाट रनआउट हुन्छन् । तर रेखा थापा त्यस्तो खेलाडी बन्न सफल बनिन्, चलचित्र प्रवेशको डेढ दशकसम्म कहिल्यै रनआउट हुनै परेको छैन ।
उनको त्यो लिभिङ स्ट्याण्डर्ड ले पनि त्यसको पुष्टि गर्छ । रेखा भन्छिन्, ‘चलचित्र फ्लप हुनु, सफल हुनु दोस्रो पाटो हो । तर चलचित्रमा चलिरहनुचाहिँ मूख्य कुरा होला नि त होइन ?’ रेखा थापालाई हेप्ने दुश्साहस सायदै गर्छन्, यस इन्डष्ट्रिमा । गर्छन् त केवल जिस्किएर नजिकका चलचित्र पत्रकार भाइबहिनीले । सधैँ चलचित्र पत्रकार भाइबहिनीलाई माया गर्ने रेखाले चलचित्रमा मात्रै होइन, सामाजिक सेवामा हात हाल्ने जमर्को पनि गरिरहेकी छन् ।
त्यसैलाई पूर्ण जवाफदेही बनाउन नसके पनि उनले त्यस पाटोलाई निरन्तर लैजाने प्रतिबद्धता जनाउँदै आइरहेकी छन् । उनी फिल्मका कुरासँग मात्रै पनि सीमित छैनन् । फिल्मबाहेक राजनीति र समाजलाई पनि राम्रो अध्ययन गरिरहेकी छन् उनले । सबैभन्दा राम्रो र ठूलो कुरा त उनले आफ्नी आमालाई सबैभन्दा आदर्श पात्र बनाएर सँगै हिँड्न चाहन्छिन् । र, लामो समयदेखि उनीहरू सँगै बसिरहेका छन् ।
कहिले चुनाव लड्ने चर्चा, कहिले प्रचण्डसँग डान्स त कहिले बाबुराम भट्टराईसँग डिनर अनि कहिले राउटेसँग, कहिले तराईका महिलासँग त कहिले पश्चिमका चेलीहरूसँग उनी देखिन्छिन् । महिलावादी स्वभावकी रेखा थापा भन्छिन्, ‘महिलामाथिका अत्याचारविरुद्ध मेरो आवाज सधैँ उच्च रहनेछ । र, जीवनको उत्तरार्द्धसम्म रहिरहनेछ ।’ केही जिई स्वभावकी रेखासँग धेरैले लामो समय सम्बन्ध टिकाइरहन सक्दैनन् । कारण, धेरै हुन सक्छन् । उनले निर्माण गर्ने अधिकांश चलचित्रको चरित्र र पात्र हेर्ने हो भने पक्कै पनि समाज र देश परिवर्तन गर्नुपर्छ भन्ने भाव देखिन्छ ।
यसैको एउटा ज्वलन्त उदाहरण हो, उनी राजनीतिमा लाग्न खोज्नु । उनले राम्रोसँग बुझेकी छन् कि राजनीति नै त्यस्तो नीति हो, जसको माध्यमबाट समाज र देश बदल्न सकिन्छ । रेखा थापाले चाहेको मान्छे बन्न सक्छिन् या सक्दिनन्, त्यो भविष्यले देखाउला तर उनले अहिले सक्ने भनेको चलचिलत्रको माध्यामबाटै हो । हिजोको दिनमा रेखा थापा यहाँसम्म कसरी आइन् ? त्यो दोस्रो पाटो होला तर आज रेखा थापाको योगदान के हो भन्ने अर्को महत्त्वपूर्ण कुरा हो ।
रेखा थापाको दबदबा भएको बखत चलचित्र नगरीका हस्तीहरूमा राजेश हमाल, निखिल उप्रेती, विराज भट्टहरू हुन् । उनीहरू पनि जस्ता त्यस्तालाई मान्छे गन्दैनथे । राजेश हमालबाहेक बाँकी पलायन जस्तै छन् । तर उनीहरूसँग पौँठेजोरी खेलेरै यहाँसम्म पुगेकी हुन् रेखा भन्दा फरक पर्दैन । सिंगो चलचित्र जगत जिउँदो छ, रेखा थापा साँच्चै नै संघर्षशील नारी अवश्य हुन् । तर उनको लगाव र प्यासनलाई सदुपयोग गर्न सक्ने हो भने भोलिका दिनमा उनले समाजका लागि केही परिवर्तन गर्न थोरै भए पनि मद्दत गर्न सक्नेछन् ।
पछिल्लो समयमा अभिनेत्रीहरूबीचको सम्बन्ध पनि झाँगिदै गएको पाइन्छ । जस्तो : अब होली आउन लागेको छ । अभिनेत्री करिष्मा मानन्धरले आफ्ना पति विनोद मानन्धरको जन्म दिनमा वर्सेनि होलीको आयोजना गर्छिन् । त्यसमा चलचित्र क्षेत्रकाहरूका साथै चलचित्र पत्रकारहरूको पनि बाक्लो उपस्थिति हुने गरेको छ । यस्ता कलाकारले आयोजना गर्ने कार्यक्रममा अर्का कलाकार जाने परम्परा हराउँदै गएको अवस्थामा अभिनेत्रीहरूमाझ पनि केही सम्बन्ध सुध्रिन थालेको आभास हुने गरेको छ ।
यसबारे अभिनेत्री रेखा थापा थप्छिन्, ‘म प्रतिस्पर्धीको रूपमा कुनै कलाकारलाई लिन्न तर मलाई उनीहरूले जबर्जस्ती प्रतिपस्पर्धी बनाउन खोज्छन् ।’ चुम्बकमा समान ध्रुवहरू आपसमा नमिलेझैँ अभिनेत्रीहरूबीच मेल नहुने स्थितिमा करिष्माको सुरुवातलाई पक्कै पनि राम्रै रूपमा लिने गरिन्छ । अभिनेत्री रेखा थापाले धेरैवटा रेकर्ड बनाइन् होला तर दुवै हात नभएका सुदर्शन थापालाई क्यानाडाबाट ल्याएर मुख्य नायक बनाएर चलचित्र हिम्मतवाला निर्माण गर्नु, पश्चिमकी एउटी कलिली चेली कमला ओलीसम्मलाई ल्याएर रियल हिरो बनाएर एउटा च्यालेन्ज लिनेसम्मको काम गरेकी छन् ।
रेखा थापा फिल्म प्रालिमार्फत् उनले अभिनेता आर्यन सिग्देललगायत थुप्रैलाई डेब्यु गराइन् । उनीहरू जिस्किएर घरिघरि भन्ने गरेको वाक्य दोहोर्याउँछिन रेखा, ‘यसको हिरोइन हौँ हामी ।’
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५