‘अत्याचार रोकिन्छ भने कोही चरमपन्थी बन्दैन’
‘जब हाम्रा बच्चाले बन्दुक उठाउँछन्, त्यतिबेला उनीहरूले परिवारलाई सुनाउँदैनन् या अनुमति लिँदैनन्’
‘उनीहरू सायद त्यसबेला आमाबाबुका बारेमा सोच्दैनन्’
कुलगामको खुदवानीमा पारम्परिक कश्मिरी वस्त्रमा आफ्नो तीन तले घरअघि बसेकी फिरदौसासँग अब उमरको याद र सपनाबाहेक केही पनि बाँकी छैन ।
पुलवामा हमलापछि सुरक्षा अधिकारी लेफ्टिनेन्ट जनरल केजेएस ढिल्लनले कश्मिरी आमाहरूलाई बन्दुक उठाएका आफ्ना छोराछोरीलाई सम्झाएर आत्मसमर्पण गराउन आग्रह गरे । त्यसो नगरे उनीहरू मारिने पनि बताए । केजे एस ढिल्लनले भनेका थिए, ‘जो बन्दुक उठाउँछ, ऊ मारिनेछ ।’
तर कश्मिरी आमाको आफ्नै कहानी छ ।
फिरदौसाका छोरा उमर वानीको सन् २०१८ मा अनन्तनाग बहरामसाब इलाकामा भारतीय सेनाले चलाएको गोली लागेर मृत्यु भयो । हतियार उठाएको ३ महिनामा नै उनी मारिएका थिए । मारिदा उनको उमेर मात्रै २१ वर्ष थियो । सुरक्षा फौजसँगको भिडन्तका क्रममा उनका दुई जना साथी पनि उनीसँगै थिए । फिरदौसाका अनुसार उमरले यो निर्णय सायद जेलबाट फिर्ता आएपछि गरेका थिए ।
उनी भन्छिन्, ‘उसलाई बारम्बार दुःख दिइयो । उसलाई पक्राउ गरेर जम्मुको कोटबिलावल जेलमा पठाइयो । जेलबाट त ऊ छुट्यो तर पटक पटक सुरक्षा फौजको क्याम्पमा बोलाउनु र त्यहाँ जानु उसका लागि सामान्य कुरा थियो । यदि उसलाई सुरक्षा फौजले दुःख नदिएको भए बन्दुक उठाउन बाध्य हुने थिएन । पटक पटक प्रताडित भएका कारण उसले चरमपन्थी बाटो समातेको थियो ।’
भारतीय सेनाले यस प्रकारका आरोपको पटक पटक अस्वीकार गर्दै कुनै पनि अपरेसन गर्नुअघि कुनै निर्दोष नागरिकको ज्यान नजाओस् भन्नेमा पूरा ख्याल राख्ने बतायो । तर यस प्रकारको आरोप कश्मिरी नेता पृथकतावादी, मानवअधिकारवादी संस्था र आममानिसले पटक पटक लगाइरहेका छन् ।
फिरदौसा बानो भन्छिन्, ‘कश्मिरका युवालाई यति बाध्य बनाइँदै छ कि उनीहरू चरमपन्थतर्फ अघि बढ्न बाध्य भइरहेका छन् ।’ यो सबै घटनाक्रमका बीच उमर पनि एक दिन घरबाट बाहिर निस्किए र घर फर्किएनन् । पछि थाहा भयो– उनले चरमपन्थी बाटो रोजे ।
फिरदौसालाई ‘उमर आज जिउँदो भएको भए त्यो बाटो छाड्न आग्रह गर्नुहुन्थ्यो ?’ भनेर प्रश्न गर्दा उनले जवाफमा भनिन्, ‘अवश्य पनि गर्ने थिएँ । तर ऊ यति सताइएको थियो कि उसले मेरो कुरा सायदै मान्ने थियो ।’
सेनाले आमाहरूसँग गरेको अपिलबारे जरिफा भन्छिन्, ‘मलाई लाग्दैन कि कुनै आमाले आफ्नो छोरा मारियोस् भन्ने चाँहन्छन् । हाम्रो छोरा ठीकठाक होस् र घर फर्कियोस् भन्ने हाम्रो चाहाना छ । एउटी आमा आफ्नो छोरालाई बन्दुक दिन सक्दिनन् । सबैलाई आमाले आफ्ना सन्तानलाई कति माया गर्छन् भन्ने जानकारी हुन्छ ।’
फिरदौसा दुःखी हुँदै भन्छिन्, ‘एक पटक उसले चरमपन्थी संगठनमा जानेबारेमा सोच्दा हाम्रो हात एक प्रकारले बाँधियो । कुनै आमाबाबु आफ्नो छोरालाई टाढा होस् भन्ने चाँहदैनन् । तर यहाँको अवस्था पूरै परिवर्तन भएको छ । यहाँ यस्तो खालको वातावरण नभएको भए जरुर हामीले कुनै कदम चाल्न सक्थ्यौँ, उसलाई रोक्न सक्थ्यौँ । जब मेरो छोराको शव घरमा आयो, तब मैले उसलाई हेरिरहेँ, उचालेँ, केही बोल्न सकिनँ ।’
उनी भन्छिन्, ‘जब हाम्रा छोराछोरीले बन्दुक उठाउँछन्, त्यो कुरा हामीलाई भन्दैनन् । उनीहरूलाई आमाबाबुको अवस्था के हुन्छ भन्ने ख्याल पनि हुँदैन । उमर जब जेलमा थियो, त्यस बेला ऊ हामीसँग आफ्नो विवाहको बारेमा कुरा गथ्र्यो । भन्थ्यो– मलाई मनपरेकी केटीसँग विवाह गर्छु । तर यो सबै ...।’
अझै पर्खिरहेकी छन् जरिफा
अनन्तनागको एसके कोलोनीमा बस्ने जरिफा अझै पनि आफ्नो छोरा फर्किएर आउने विश्वासमा पर्खाइमा छन् । उनी आफ्नो छोरा समाजसेवामा लागोस् भन्ने चाहन्छिन् ।
जरिफाका छोरा बुरहान गनी गत वर्षको २४ जुनदेखि बेपत्ता छन् । श्रीनगरको सीआरसी कलेजमा पढिरहेका बुरहान एक दिन घरबाट निस्किएका थिए, त्यसपछि उनी घर फर्किएनन् ।
जरिफालाई अझै याद छ, त्यो आइतबारको दिन थियो । छोरा हराएको ३ दिनपछि तस्बीर बाहिर आयो, जसमा बुरहान बन्दुक बोकेर उभिएका थिए । जरिफा भन्छिन्, ‘छोराको यस्तो तस्बीर बाहिर आउँदा परिवारलाई ठूलो अफसोस भयो ।’ जरिफाले अपिल गरिन्, ‘म अपिल गर्छु कि कसैलाई मेरो छोरा कहाँ छ भनेर थाहा छ भने मलाई फिर्ता गरिदिनुहोस् । मेरो छोरा फर्किएर आयो भने म धेरै खुसी हुनेछु ।’
म उसलाई भन्छु, ‘मेरो छोरा, घर आऊ । तिमीले जनताको सेवा गर्नुपर्छ, त्यही तिम्रो काम हो । गरिब र उत्पीडितको सेवा गर्नु तिम्रा लागि वास्तममा जिहाद हो । मैले असल शिक्षा दिएकी छु ।’
सेनाले आमाहरूसँग गरेको अपिलबारे जरिफा भन्छिन्, ‘मलाई लाग्दैन कि कुनै आमाले आफ्नो छोरा मारियोस् भन्ने चाँहन्छन् । हाम्रो छोरा ठीकठाक होस् र घर फर्कियोस् भन्ने हाम्रो चाहाना छ । एउटी आमा आफ्नो छोरालाई बन्दुक दिन सक्दिनन् । सबैलाई आमाले आफ्ना सन्तानलाई कति माया गर्छन् भन्ने जानकारी हुन्छ ।’
‘छोरालाई चरमपन्थी बाटो छाड भन्न सक्दैनन्’
हमिदाको सोच जरिफाको भन्दा फरक छ । उनी कश्मिरी युवा बन्दुक उठाउन बाध्य भएको ठान्छिन् । हमिदाका छोरा तारिक अहमद खान अगस्ट २०१८ मा चरमपन्थी संगठन लस्कर ए तोएबामा गएका थिए ।
तारिकका बाबु नजिर अहमद खानको पृथकतावादी राजनीतिको लामो इतिहास छ । ‘मेरो छोराको मामला कुनै अलग होइन । सार्वजनिक सुरक्षा कानुन (पीएसए)को नाममा निर्दोष जनतालाई जेल हालिएको छ । प्यालेट गनबाट मानिसले आँखाको ज्योति गुमाइरहेका छन् । कश्मिर समस्या जब समाधान हुन्छ, तब यो सबै समस्याको हल हुन्छ’, उनी भन्छिन् ।
सेनाले गरेको आत्मसमर्पणको अपिलबारे हमिदा भन्छिन्, ‘म मेरो छोरालाई चरमपन्थी बाटो छाड् भन्न सक्दिनँ । जसले बन्दुक उठाउँछ, ऊ मारिन्छ । मेरो छोराको भाग्य पनि योभन्दा फरक हुँदैन । कश्मिरमा मारिएका सबै मेरा छोरा जस्तै हुन् ।’
‘यसो भए कोही चरमपन्थी बन्दैन’
तारिकका बाबु नजिर अहमद खानको पृथकतावादी राजनीतिको एउटा लामो इतिहास छ । हमिदा आफ्नो छोरालाई फिर्ता बोलाउन चाहन्नन् । कश्मिर समस्याको समाधानमा भइरहेको ढिलाइका कारण कश्मिरी युवा हतियार उठाइरहेका छन् ।
हमिदा कश्मिरमा हरेकलाई कमजोर पारिएको र बन्दुक उठाउन बाध्य बनाइएको ठान्छिन् । मेरा छोराको मामला पनि यस्तै हो । उनी भन्छिन्, ‘कश्मिरमा अत्याचार छ । जनतालाई दबाइएको छ । कश्मिर समस्या हल गर्नुपर्छ । यो समस्या हल गर्नेवित्तिकै सबै ठीक हुन्छ ।
सार्वजनिक सुरक्षा कानुन (पीएसए)को नाममा निर्दोषलाई जेल हालिएको छ, अन्धो बनाइएको छ । त्यसैले मानिस बन्दुक उठाइरहेका छन् । अत्याचार रोकिन्छ भने कोही चरमपन्थी बन्दैन ।’
उनलाई कसले अत्याचार गर्छ ? भनेर सोध्दा भन्छिन्, ‘सेना, सीआरपीएफ, एसओजी र प्रहरीले यहाँ अत्याचार गरिरहेका छन् ।’ सुरक्षाकर्मीले पछिल्लो २ वर्षमा सुरक्षाकर्मीसँगको मुठभेडमा ५०० चरमपन्थी मारिएको दाबी गरेको छ । हालै सुरक्षा अधिकारीले कश्मिरमा २०० बढी चरमपन्थी सक्रिय रहेको बताएको छ ।
सन् १९९० को दशकमा कश्मिरी युवाले बन्दुक उठाएर भारतीय शासनका विरुद्धमा लड्न सुरु गरेका थिए, जसलाई आज चरमपन्थका रूपमा लिइँदै आएको छ । एजेन्सी
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५