गाउँ कार्यपालिकाको बुधबार बसेको बैठकले गत साउन १४ गते पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका १० सदस्यीय पर्वतारोहण टोलीका नेता पुर्जाको शालिक बनाउने निर्णय गरेको हो।
गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार परिवारका सदस्यहरूको इच्छाअनुसार निर्मलको साहस, बहादुरी, कीर्तिमान र योगदानको सम्मानमा अन्नपूर्ण गाउँपालिका–३ दानामा शालिक निर्माण गर्न लागिएको हो।
पुर्जाको जन्मथलो अन्नपूर्ण गाउँपालिकाको भूगोलमा पर्ने ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाललाई ‘निम्सदाई अन्नपूर्ण’ नामकरण गर्न संघीय सरकारलाई सिफारिस गरिएको अध्यक्ष पुनले बताए।
त्यस्तै, अन्नपूर्ण प्रथमका प्रथम आरोही फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको नाममा रहेको नारच्याङ–अन्नपूर्ण आधार शिविर पदमार्गलाई ‘निम्सदाई मौरिस हर्जोग’ नामकरण गर्ने विषयमा हर्जोगका परिवारसँग परामर्श गरेर निर्णय गरिने गाउँपालिकाले जनाएको छ।
सन् २०१९ मा पुर्जाले ‘प्रोजेक्ट पसिबल’ नाम दिएर अन्नपूर्णबाट सुरु गरेको अभियानमा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल ६ महिना ६ दिनमा आरोहण गरेर सबैभन्दा छोटो अवधिमा १४ वटा हिमाल आरोहण गर्ने कीर्तिमान बनाएका थिए।
१८ वर्षको उमेरमा सन् २००३ मा ब्रिटिश गोर्खा रेजिमेन्टमा भर्ती भएका पुर्जा सन् २००९ मा बेलायतको विशेष फौज ‘स्पेशल बोट सर्भिस’ (एसबीएस) मा आबद्ध भएका थिए। अक्सिजनबिना विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल दुईपटक आरोहण गर्ने कीर्तिमानसमेत बनाएका पुर्जाको हिमपहिरोमा परी निधन भएको हो।
यसअघि पुर्जाले घोषणा गरेको ४० लाख रुपैयाँको अक्षयकोषको ब्याजबाट ज्ञान प्रकाश नमुना माविको कक्षा ८, १० र १२ मा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार तथा दानाका अन्य चार आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिँदै आएको छ।